Shere Parsa
मधेस प्रदेश हेडलाइन

रौतहटमा माधव नेपालले शिलान्याश गरेको पुल १२ वर्ष सम्ममा पनि बनेन

मधेसखबर
वीरगन्ज, ०१ भदौ : रौतहटको बाग्मती नदीमा १२ वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । रौतहटको दुर्गाभगवती गाउँपलिका वडा नम्बर ५ वडहर्वा बाग्मती नदीमा १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न स्थानीयवासीले सास्ती बेहोर्नुपरेको हो ।

बाग्मती नदीमा स्थानीयवासी वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो । तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन । पुल बन्ने आशा बोकेका बाग्मती पारिका वडहर्वावासीलाई आफ्नै गाउँपालिका तथा वडा कार्यालय आउनसमेत दिनभर लाग्ने गरेको छ ।

 

पुल समयमा नै नबन्दा बाग्मती पारि बसोवास गर्ने झन्डै चार सय घरका मानिस जोखिम मोलेर काठको डुङ्गामा यात्रा गर्न बाध्य छन् । दैनिक तथा प्रशासनिक कामका लागि र जिल्लाका विभिन्न ठाउँमा जानका लागि डुङ्गाकै भर पर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ । बिरामी हुँदासमेत डुङ्गाबाट नै नदी पार गरेर उपचार गर्न जानुपर्ने अवस्था छ ।

स्थानीयवासी बालकेश्वरी देवीले नदीमा बाढी आएमा पारि जानसमेत नसक्ने बताइन् । उनले आफ्नो खेतबारीमा काम गर्न जानसमेत एक दिन लाग्ने गरेको गुनासो गरिन् । त्यस्तै स्थानीयवासी सुरेन्द्र पासवानले वडा कार्यालयमा सामान्य सिफारिसका लागि जाँदा एक दिन छुट्याएर जानुपर्ने बाध्यता रहेको सुनाए ।

 

बाग्मती नदी पारि रौतहटको वतसपुर, वडहर्वा, राजदेवी, गौरलगायत ठाउँका मानिस डुङ्गा चढेरै खेतबारीमा काम गर्न जाने गरेका छन् । बाग्मती पारिका मानिसलाई वारि आउन दुई वटा डुङ्गा चढ्नुपर्छ ।

 

बर्षायाममा बाग्मती नदीमा बाढी आउँदा मानिसको आवतजावत नै ठप्प हुने गरेको डुङ्गा चालक रामबाबु रजक बताउछन् । सर्वसाधारणले डुङ्गा चढ्न एक पटकको ५० रुपैयाँ लाग्ने उहाँले बताउनुभयो । नदीमा बाढी आउँदा दिनमा एक पटक मात्रै डुङ्गा चल्ने उनी बताउछन् ।

 

हुलाकी राजमार्ग निर्देशनालय वीरगन्जका प्रमुख दारोगा प्रसाद साहले भने ठेकेदार कम्पनीको समय अवधि डेढ वर्ष रहेको बताए । उनले डेढ वर्षको अवधिमा बाग्मती नदीको पुल अन्य किसिमका बाधा नभए निर्माण सम्पन्न हुने बताए ।

 

बाग्मती नदीमा विसं २०६७ साल जेठमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पक्की बनाउनका लागि शिलान्यास गरेका थिए । प्रधानमन्त्रीबाट पक्की पुल निर्माणका लागि शिलान्यास भएसँगै ज्यानको जोखिम राखेर यात्रा गर्न बाध्य वडहर्वावासी खुसी भएका थिए । तर शिलान्यास भएको १२ वर्षसम्म पनि पुल बन्न नसक्दा उनीहरू रुष्ट भएका छन् । यहाँ पुल बनेमा रौतहट र सर्लाहीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुनेछन् ।

 

बाग्मती नदी पुलको ठेक्का लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख नौ हजार चार सय ३३ रुपैयाँमा पाएको थियो । ठेक्का लुम्बिनीले पाए पनि निर्माणको काम पप्पु कन्सन्ट्रक्शनले थालेको थियो । पप्पु कन्ट्रक्शनले सडक विभागसँग २०६७ जेठ ३१ गते २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । १७ स्पान सहितका यो पुलको लम्बाइ ६ सय ३३ मिटर र चौडाइ दुई लेन हुने बताइएको छ । स्पान निर्माणको काम सकिए पनि बाँकी काम भने सुरु भएको नौ वर्षभन्दा बढी भइसकेको छ ।

 

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगन्जले लुम्बिनी बिल्डर्ससँग ठेक्का रद्द गरेपछि फेरि आह्वान गरेको ठेक्का महालक्ष्मी विकास वाईपी जेभी जनकपुरले २०७९ वैशाख ११ गते सम्झौता गरी २०८१ कात्तिक १० गते काम सक्ने गरी ५७ करोड ४० लाख ७७ हजार पाँच सय एक रुपैयाँमा सम्झौता गरेको छ । कार्यालयले नयाँ ठेक्का लगाए पनि काम भने सुरु हुन सकेको छैन । साभार : उज्यालोखबर

Related posts

मधेसका उखु किसानले अझै पाएनन् सरकारी अनुदान रकम

धनुषामा प्रहरी र बन्दुकधारी समुह बीच गोली हानाहान

गण्डक नहरमा पानी आएपछि किसानलाई रोपाईमा थप राहत

Leave a Comment