Shere Parsa
कृषि हेडलाइन

मधेसका उखु किसानले अझै पाएनन् सरकारी अनुदान रकम

फाइल फोटो

 

मधेसखबर
वीरगन्ज,२५ भदौं : मधेसका उखु किसानले समयमै सरकारी अनुदानको रकम पाउन नसकेको गुनासो गरेका छन् ।

नगदे बाली उखुखेती लामो समयदेखि गर्दै आएका पर्सा , बारा , रौतहट , सर्लाही लगायतका जिल्लाका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसानहरु मर्कामा परेका हुन् ।

मधेसका जिल्लामा सञ्चालित केही चिनी उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि केही उद्योगले रकम नदिएको भन्दै किसानले पटक पटक आन्दोलन समेत गर्दै आएका छन् ।आन्दोलित किसानका माग पूरा गर्न प्रशासनको पहलमा केही रकम भने भुक्तानी भएको उखु किसान रामेश्वर महतोले बताए । उद्योगहरूले दिने रकम उठ्ने क्रम जारी रहेको तर सरकारले दिने अनुदान रकम नपाउँदा आफूहरू मारमा परेको अर्का किसान रामकेशव साहले बताए ।

गएको वर्ष उखु बेचेका उखु किसानले अहिलेसम्म पनि सरकारी अनुदान रकम भुक्तानी नपाउँदा घर–व्यवहार चलाउन गाह्रो भएको किसानहरुको गुनासो छ । सरकारले दिने भनेको अनुदानको रकमसमेत समयमा उपलब्ध नगराउँदा मल तथा उखुखेतीका लागि आवश्यक सामग्री बजारबाट खरिद गर्न समस्या परेको नेपाल उखु उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीको भनाइ छ ।

 

गएको आर्थिक वर्षका लागि सरकारले उद्योग र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगले प्रतिक्विन्टल ५ सय २० र नेपाल सरकारले ७० रुपैयाँ अनुदान रकम दिने सहमति भएको थियो । तर सहमति अनुसार रकम पाउन नसकेको पर्साका उखु किसान हरिओम यादवले बताए ।

 

चिनी उद्योगीले समयमा किसानको उखु बिक्रीको तथ्याङ्क उपलब्ध नगराएकाले किसानको खातामा पैसा पठाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले जनाएको छ । उद्योगीलाई चाँडै किसानले उखु बिक्रीको तथ्याङ्क पठाउन ताकेता गरिएको र उद्योगले तथ्याङ्क पठाएलगत्तै अनुदान रकम पठाउने प्रक्रिया अघि बढाइने उसले जनाएको छ ।

Related posts

अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने काँग्रेस युवा नेता सुधीर पटेलको घोषणा

आज लक्ष्मीपूजा , कुकुर तिहार पनि आजै

Leave a Comment