मधेसखबर
वीरगन्ज ,१६ असाेज :बडा दशैंको सातौं दिन आज (आइतबार ) दुर्गापीठ र दशैंघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ वटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।
‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले भने ।
फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
यता वीरगन्जकाे गहवामाई , वीर्तामाइ मन्दिर लगायतका दुर्गा शक्तिपिठ र ठाउँ ठाउँमा स्थापना गरिएका दुर्गामाताकाे पण्डालहरुमा पनि आज फूलपमति भित्र्याइदैछ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दशैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।
फूलवातिका दिनदेखि सरकारी कार्यालयहरु पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।
गाउँहरूमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैंको रौनकलाई अझ बढाउने गर्दछ । यस अवसरमा चङ्गा उडाएर रमाइलो गर्ने सांस्कृतिक परम्परा पनि छ ।