मधेसखबर वीरगन्ज ,२७ भदाैं : नेपाल भ्रमणमा रहेको चीनियाँ टोलीको गतिविधि र भेटवार्ता पारदर्शी गर्नु पर्ने माग गर्दै विज्ञप्ति जारी गरेका राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवलाई प्रहरीले पक्राउ गरेको छ।
यादवलाई प्रहरीले काठमाडौबाट साेमबार पक्राउ गरेकाे अभियानकी उपाध्यक्ष सुनिता साहले जानकारी दिएकी हुन्।उनका अनुसार, देश र जनताको हितमा आवाज उठाउँदा अभियानका अध्यक्ष यादवलाई सरकारले प्रहरी लगाएर बन्धक वनाएको छ ।
नेपाल भ्रमणमा रहेका चिनीयाँ प्रतिनिधि मण्डलको भेटवार्ता पारदर्शी गर्नु पर्ने माग राखेकै आधारमा यादवलाई प्रहरीले पक्राउ गरेको भन्दै उनले सरकारको कदमको निन्दा गरेकी छिन्।
‘विना कसुर अध्यक्ष यादवको शरीर बन्धक गरेर सरकारले संविधान प्रदत्त स्वतन्त्रताको अधिकार हनन् गरेको हाम्रो ठहर छ’ साहले विज्ञप्ति जारी गरेर भनेकी छिन– ‘यो कदमले सरकारको अलोकतान्त्रिक कदमको पर्दाफास त भएको छ नै जन चासोका सवालमा आवाज उठाउने ब्यक्तिको शरीर बन्धक गर्नुले सरकार नै चिन परस्त भएको प्रष्ट भएको छ।’
२०७४ को निर्वाचनमा वाम गठबन्धन निर्माणमा दवाब मुलक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ विस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैमा संशयपुर्ण रहेको साहको दावी छ।
‘त्यसैले चीनियाँ टोलीको नेपालमा आगमनदेखि प्रस्थानसम्मको सम्पुर्ण विवरण आम नेपाली जनतामा पारदर्शी रूपमा पुग्नुपर्ने हाम्रो माग हो’– उनले भनेकी छिन।
देश र जनताको पक्षमा आवाज उठाउने अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न पनि विज्ञप्तिमा माग गरिएको छ । अन्यथा राष्ट्रिय एकता अभियान सशक्त आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सरकार र सम्वन्धित निकाय नै हुने चेतावनी समेत अभियानले दिएको छ।