मधेसखबर
वीरगन्ज, ०७ भदौं : निर्माण भएको दुई दशक पछि वीरगन्ज स्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) को एउटा रेल्वे लिकलाई स्थानान्तरण गरिएको छ । बीसीएन गोदामनजिक रहेको ४ नम्बर लिकलाई ड्राइपोर्टको पश्चिम तर्फ जडान गरिएको ड्राइपोर्ट सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्माले बताए ।
ड्राइपोर्ट निर्माण गर्दाकै समयमा अनुपयुक्त ढंगले उक्त रेल्वे लिक जडान गरिएको थियो । जसको कारण उक्त लिक उपयोगविहीन मात्र भएन, उपयोगमा रहेका अन्य लिकका लागि पनि प्राविधिक रूपले जटिल बनेको थियो ।
अन्य लिकसरह उक्त लिकबाट रेल ल्याउन सम्भव थिएन । लिकको अन्तिम बिन्दु बन्दरगाहमा रहेको इन्जिन रिभर्सल प्वाइन्टसम्म नपुगेकाले रेल ल्याउन सम्भव नभएको हो । ‘इन्जिन रिभर्सल प्वाइन्टसम्म उक्त लिकको पहुँच थिएन,’ उनले भने, ‘यो लिकले अन्य लिकको उपयोगितामा पनि कठिनाइ भइरहेको थियो, गोदाम र अन्य लिकको बीचमा परेपछि मालवाहक रेलहरूबाट मालवस्तु सोझै गोदामसम्म ल्याउन निकै अप्ठेरो पनि भइरहेको थियो ।’ लिक विस्तारको काम प्रिस्टिन भ्याली आफैंले गरेको र यसका लागि इन्टर मोडल यातायात विकास समिति लगायत सरोकारवाला निकायहरूको अनुमति समेत लिएको उनले बताए ।
हाल हटाइएको ४ नम्बर रेल्वे लिक भन्दा पूर्वतर्फका अन्य ३ लिकहरू उपयोगी छन् , यो लिक बनाउँदा मात्रै प्राविधिक त्रुटि भएको थियो,’ शर्माले भने, ‘अब यो लिक हटेपछि पूर्वतर्फका बाँकी ३ लिकको उपयोगिता झनै बढ्यो, खाली भएको करिब १५ मिटर स्थानमा पक्की बाटो निर्माण तथा इन्जिन रिभर्सल प्वाइन्टतर्फ पनि पक्की बाटो बनाएर कन्टेनर तथा मालवस्तु झार्ने रिचस्टेकर जस्ता भारी उपकरण प्रयोग गर्न सकिन्छ ।’
४ नम्बर लिकलाई उखेलेर हाल ड्राइपोर्टको पश्चिम तर्फ रहेको बीआरएन वस्तु झार्ने लिकसँगै जडान गरिएको शर्माले बताए । ‘हाल फलामजन्य वस्तु बोकेर आउने मालवाहक रेलका लागि उपयोगमा आइरहेको लिकभन्दा पूर्वतर्फ ४ नम्बर लिकलाई जडान गरिएको छ,’ उनले भने, ‘नयाँ जडान गरिएको लिकबाट फलामजन्य वस्तु ल्याउने र हालको ५ नम्बर लिकबाट भविष्यमा कोइला, क्लिंकर, खरानीजस्ता वस्तु बोकेका रेल ल्याउने योजना छ ।’ हाल रक्सौलमा रक्सौल भन्सारले वीरगन्ज भन्सारको पुरानो बाटो भएर डस्टी कार्गो वस्तु वीरगन्ज ल्याउन रोक लगाएकाले भविष्यमा ती वस्तु नेपाल ल्याउन सुक्खा बन्दरगाह उपयोगी हुने उनले बताए ।
हाल नयाँ जडान गरिएको लिक र पुरानो ५ नम्बर लिकको बीचमा १५ मिटर अग्लो पर्खाल निर्माण गर्ने योजना रहेको शर्माले बताए । ‘दुवै लिकको बीचमा १२ फिट अग्लो पर्खाल निर्माण गरिरहेका छौं, साथै ड्राइपोर्टको पश्चिमतर्फ रहेको हालको करिब १० फिट अग्लो पर्खालको उचाइ बढाएर १२ फिटको बनाउँदै छौं,’ उनले भने, ‘कम्पाउन्ड वालमै पानीको फोहोरा झार्ने स्प्रिंकल र धूल कणलाई बाहिर जानबाट रोक्न कपडाको पर्दासमेत राख्ने योजना छ, त्यसो गर्दा ड्राइपोर्टबाट धूलकण बाहिरिएर मानवबस्तीमा पुग्ने छैन र स्थानीयको गुनासो पनि आउने छैन ।’
वीरगन्ज उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष हरि गौतमले ड्राइपोर्टको उपयोगविहीन लिक स्थानान्तरण गरिनु राम्रो काम भएको बताए । ‘हामीले लामो समय देखि यो लिक स्थानान्तरणको माग राखेका थियौं,’ उनले भने, ‘अब लिकको उपयोगिता हुने भयो र डस्टी कार्गो वस्तुहरू पनि बन्दरगाहमा ल्याउन सम्भव हुने भयो ।’ साभार : कान्तिपुर