Shere Parsa
राष्ट्रिय

लाल माेहम्मद हत्या प्रकरण : रक्साैलका बब्लु मुख्य याेजनाकार

वीरगन्ज ,१३ मंसिर : काठमाडौंको गोठाटारमा भएको ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्र्जी)को हत्याका मुख्य योजनाकार भारतीय नागरिक बब्लु पासवान रहेको खुलेको छ ।

बिहारकाे रक्सौलका पासवान हत्याका मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानमा खुलेको हो ।

सर्लाही हरिवन नगरपालिका– २ का मोहम्मदको गत ३ असोजमा कागेश्वरी–मनोहरा नगरपालिका– ८ गोठाटारस्थित एडभेन्चर इन्टरप्राइजेज गार्मेन्टअगाडि लखेटी–लखेटी गोली हानेर हत्या भएको थियो । हत्यालगत्तै प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको संयोजकत्वमा विशेष अनुसन्धान समिति गठन गरेको थियो । समितिबाट भएको करिब ५७ दिनको अनुसन्धानले मोहम्मदको हत्या बब्लुकै योजनामा भएको निष्कर्ष निकालेको छ । समितिका सदस्य तथा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले हालसम्मको अनुसन्धानबाट मोहम्मदको हत्या बब्लुकै योजनामा भएको देखिएको बताए ।

‘मोहम्मदको हत्या अनुसन्धान सकिएको छ । हालसम्म भएका अनुसन्धान विश्लेषण गर्दा हत्याको मुख्य योजनाकार भारतीय नागरिक बब्लु पासवान रहेको देखिन्छ । उनी फरार छन् । खोजीमा प्रहरी सक्रिय छ । उनी पक्राउ परेपछि थप तथ्य खुल्ने पाटो अलग हो । तर, हालसम्म प्राप्त प्रमाण हेर्दा मोहम्मद हत्यामा उनी नै मुख्य पात्र देखिन्छन्,’ उनले भने ।

प्रहरीका अनुसार बब्लु लागुऔषध मुद्दामा पार्साको वीरगन्जस्थित कारागारमा पाँच वर्ष कैद सजाय पाएका व्यक्ति हुन् । उनी करिब वर्ष दिनअघि मात्रै कारागारबाट मुक्त भएका थिए । प्रहरीका अनुसार मोहम्मद हत्याको योजना बनाउने मात्र नभई आवश्यक खर्च जुटाउने कामसमेत उनकै संलग्नतामा भएको थियो । हत्याका लागि आवश्यक युवा उनैले जुटाएका थिए । हत्यामा प्रयोग भएको हतियार रक्सौलसम्म ल्याउने काम पनि उनैले गरेको अनुसन्धानले देखाएको छ । रक्सौलमा उनले उक्त हतियार हत्याका अभियुक्तमध्येका वीरगन्ज महानगरपालिका– १६ का २१ वर्षीय महोरम मियाँ र १७ वर्षीय रेहान मियाँलाई दिएका थिए । उनकै निर्देशनमा महोरम र रेहानले उक्त हतियार काठमाडौंसम्म ल्याई ‘सुटर’लाई दिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार बब्लुले मोहम्मद हत्यामा आफ्नो ‘गर्लफ्रेन्ड’ मेनिला भनिने मेरिनालाई समेत प्रयोग गरेका छन् । उनको मेरिनासँग जेलमै भेट भएको थियो । त्यसपछि दुईबीच प्रेम बसेको थियो । जेलबाट छुटेपछि दुवै रक्सौल बस्दै आएका थिए । यही क्रममा बब्लुले मोहम्मद हत्याको योजना मेरिनासँग ‘सेयर’ गरेका थिए । मोहम्मद हत्यामा ‘रेकी’ गर्न प्रयोग भएकी मकवानपुर बकैया गाउँपालिका– १ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानलाई बब्लुसँग मेरिनाले नै भेट गराइदिएको प्रहरीले जनाएको छ ।

मेरिनासँग सुस्मिताको जगन्नाथ देवल केन्द्रीय कारागारमा भेट भएको थियो । जुनवेला मेरिना लागुऔषध कसुरमा र सुस्मिता चोरी मुद्दामा कारागारस्थित महिला बन्दीगृहमा कैद सजाय भुक्तान गर्दैै थिए । जेलबाट मुक्त भएको सूचनापछि मेरिनाले सुस्मितालाई रक्सौल बोलाएकी थिइन् । सोही क्रममा सुस्मिता र बब्लुको भेट भएको थियो । मोहम्मदको ‘रेकी’ गर्ने ‘टास्क’ बब्लुले सोही क्रममा सुस्मितालाई दिएका थिए ।

‘सुटर’का लागि होटेल र स्कुटरको व्यवस्थापन गर्ने जिम्मा भने बब्लुले भारतीय नागरिक ‘गुड्डु’ भनिने नितिनमोहन खानलाई दिएका थिए । निर्देशनअनुसार नै नितिनले ‘सुटर’लाई काठमाडौंमा ‘रिसिभ’ गरेका थिए । उनैले ‘सुटर’का लागि गोठाटारस्थित ‘कोशीपारी’ नामको गेस्टहाउस बुक गराइदिएका थिए । गेस्टहाउससम्म लैजाने काम नितिनले नै गरिदिएका थिए । उनी लामो समयदेखि काठमाडौं बस्दै आएका थिए । उनी काठमाडौंका नाका र गल्लीबारे राम्रो जानकार थिए । हत्यापछि सुरक्षित भाग्न उनैले ‘सुटर’लाई रुटको जानकारी दिएका थिए ।

हालसम्मको अनुसन्धानअनुसार हत्यामा प्रयोग भएका दुवै ‘सुटर’ भारतीय नागरिक हुन् । जसलाई ‘हायर’ गर्ने काम पनि बब्लुले नै गरेका थिए । प्रहरीका अनुसार बब्लुले हत्याका क्रममा फरक–फरक भूमिकामा प्रयोग गरिएकामध्ये कसैलाई एक–अर्कासँग भेट र सम्पर्क दिएका थिएनन् ।

अनुसन्धानमा संलग्न विशेष ब्युरोका एक उच्च अधिकृतले भने, ‘बब्लु निकै ‘स्मार्ट’ देखिन्छ । उसले हत्याका लागि सबैलाई फरक–फरक ‘टास्क’ दिएको देखिन्छ । उनीहरूको एकआपसमा कुनै सम्पर्क देखिन्न । सबैलाई उनी आफैँले ‘ह्यान्डल’ गरेजस्तो देखिन्छ । योजना ‘स्मार्टली’ बनेको देखिन्छ । त्यसो हुँदा ‘सुटर’ सजिलै उम्किन पुगे ।’

हत्यामा संलग्नमध्ये प्रहरीले गत १३ असोजमा वीरगन्ज– १६ का २१ वर्षीय महोरम मियाँ, सोही ठाउँका १७ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका– १ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानलाई मात्रै पक्राउ गरेको छ । मुख्य योजनाकार बब्लु, उनकी ‘गर्लफ्रेन्ड’ मेरिना र बाँकी तीन अभियुक्त फरार छन् । काठमाडौं परिसरका प्रवक्ता एसपी मैनालीले हत्यामा संलग्न सबै अभियुक्त पहिचान भएको बताए । उनले भने, ‘हत्यामा संलग्न तीन अभियुक्त पक्राउ परेका छन् । बाँकी ६ जना फरार छन् । उनीहरूको पहिचान खुलेको छ । प्रहरी खोजीमा छ ।’
साभार: नयाँपत्रिका

Related posts

उम्मेदवारी दिने बित्तिकै सांसद पद सकिन्छ: निर्वाचन आयोग

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक हुबहु अघि बढाउने गठबन्धनको निर्णय

विकासकाे नाममा डाेजर आतंक बन्द हुनुपर्छ : मन्त्री यादव

Leave a Comment