मधेसखबर
वीरगन्ज,३० कार्तिक : पर्साको क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया, अन्य उम्मेदवारहरु भन्दा निक्कै भारी देखिएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौरसियाको पकड क्षेत्र मानिने क्षेत्र नम्बर २ मा उनीसँग प्रतिस्पर्धामा कोही देखिदैनन् ।
पर्सा २ मा प्रतिनिधीसभा सदस्यमा दलका ८ जना र स्वतन्त्र ३ गरी ११ जना उम्मेदवार रहेकोमा चौरसिया नै अहिलेसम्म सबै भन्दा अगाडि देखिएका छन् ।
५७ वर्षीय चौरसिया विद्यार्थी अवस्थादेखि नै राजनीतिमा संलग्न छन् । २०४६ सालदेखि पार्टीगत रूपमा सक्रिय भएका उनी २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि सद्भावना पार्टी प्रवेश गरी त्यही पार्टीको टिकटमा चुनाव लडेका थिए ।
निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसमै फर्किएका चौरसियालाई २०५६ सालको आम निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट कांग्रेसबाट उम्मेदवार भएर निर्वाचित भएका थिए । त्यहि अवधिमा उनी २०५८ सालमा स्थानीय विकास मन्त्रालयको सहायक मन्त्रीसमेत बनेका थिए ।
राजनीतिक यात्रामा दुई पटक गरेर तीन महीना जेल जीवन समेत बिताएका चौरसिया २०६४ सालमा भएको पहिलो संविधान सभा सदस्यको निर्वाचनमा पर्साको तत्कालीन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
२०७० सालको दोस्रो संविधान सभा सदस्यको निर्वाचनमा पराजित भएका चौरसिया २०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पनि तत्कालिन संघिय समाजवादी फोरमका बिमल प्रसाद श्रीवास्तवसँग पराजित भए । २१ हजार १ सय ६९ मतका साथ बिमल बिजयी हुँदा १९ हजार ७ सय ४ मतका साथ अजय दोस्रो स्थानमा रहेका थिए । चौरसिया यसपाली छैठौँ पटक चुनावी मैदानमा होमिएका छन् । २ पटक जित र ४ पटक हार बेहोरेका चौरसियाले यसपाली फेरी जित आफ्नो पक्षमा पार्ने देखिन्छ ।
हालसम्मको चुनावी माहोलअनुरुप चौरसिया अगाडी देखिएपनि उनलाई जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीले पछ्याइरहेका छन् । तर माहौल हेर्दा चौरसियाको जित निश्चित देखिन्छ ।
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लोसपाबाट मेयरका आकांक्षी रहेका कुर्मीले टिकट नपाएपछि लोसपा प्रति उनले लगातार असन्तुष्टी पोख्दै आइरहेका थिए ।
लोसपाबाटै उपमेयरका उम्मेदवार पुरुषोत्तमलाल झाको विरुद्ध षड्यन्त्र गरेको भन्दै लोसपा जिल्ला कार्य समितिले कुर्मीलाई कारबाहीका लागि सिफारिस गरेको थियो । त्यसपछि असन्तुष्ट भएका कुर्मीले मनोनयन दर्ताको केहि अप्ता अगाडि मात्रै गुपचुप रुपमा जसपा प्रवेश गरेका थिए ।
यसअघि कहिलै पनि चुनाव नलडेका कुर्मीलाई २ पटक निर्वाचित भइसकेका पूर्व मन्त्रीसमेत रहेका चौरसिया नै जित्ने पर्सा २ का मतदाताहरु बताउछन् ।
क्षेत्र नम्बर २ मा जसपाबाट कुनै बलियो उम्मेदवार नभएपछि कुर्मीलाई उम्मेदवार बनाएको विश्लेषण यहाँको राजनीतिक बृतान्तमा हुने गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली नेता स्वर्गीय गोखुल प्रसाद कुर्मीका छोरा कुर्मी जसपाका उम्मेदवार भएपनि उनको पारिवार भने राप्रपामा आस्थावान परिवार हो ।
कुर्मीका भाई जगरनाथ प्रसाद कुर्मी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हुन् । राप्रपाबाट स्थानीय तहको चुनावमा उपमेयरमा लडेकी बिना जैसवाल उनकी बुहारी हुन् ।
उनी राप्रपाबाट समानुपातिकमा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार पनि हुन् । यसले गर्दा कुर्मीलाई घरैबाट असहयोग हुने स्पष्ट हुन्छ । किनभने यही क्षेत्रबाट राप्रपाका उम्मेदवार नरेश कुमार साह छन् । तसर्थ उनका भाई, बुहारीसहितका परिवारबाटै राप्रपालाई भोट जाने हुँदा कुर्मीले घरकै पारिवारीक भोट पनि नपाउने देखिएको हो ।