मधेसखबर
वीरगन्ज, २७ असोज : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ गठबन्धन दलबाट मन्त्रिपरिषदमा नेताहरुलाई हटाउने तयारी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका चार जना मन्त्रीलाई बर्खास्त गरेसँगै मुख्यमन्त्री राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुलाई हटाउने तयारी गरेका हुन् ।
मधेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले सत्तागठबन्धनका मन्त्रीहरु हटाउने विषयमा छलफल भइरहेको बताए ।
‘अहिले निर्णय नै भइसकेको छैन । पाँच दलीय गठबन्धनका मन्त्रीहरुलाई हटाउने विषयमा छलफल भइरहेको छ’ उनले भने , प्रदेश सरकारमा कांग्रेसका ३, एकीकृत समाजवदीका २ मन्त्री र एक राज्यमन्त्री, माओवादीका एक मन्त्री र एक राज्यमन्त्री छन् ।
कांग्रेसबाट प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।
नेकपा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादव र राज्य मन्त्री नागेन्द्र राय यादव छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण छन् ।
सत्ता गठबन्धन छाडेर जसपाले नेकपा एमालेसंग चुनावी गठबन्धन गरेको छ । त्यसै कारण प्रधानमन्त्री देउवाले संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका छन् ।