Shere Parsa
राष्ट्रिय

लालमहम्मद हत्या प्रकरण : वीरगन्जका दुइ युवक सहित तीन जना पक्राउ

मधेसखबर
वीरगन्ज,१५ असोज : काठमाडौंको गोठाटारमा असोज ३ गते मोहम्मद दर्जी उर्फ लाल मोहम्मदलाई गोली प्रहार गरेर हत्या गरेको द्दटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जका दुइ युवक सहित ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ भिस्वा टोल घर भएका रेहान खान , वीरगज–१६ घर भएका महोरम मियाँ र मकवानपुरको बकैया घर भइ काठमाण्डौको कपनमा बस्ने २१ वर्षीया सुस्मिता स्याङतान उर्फ सुमि रहेकी छन् ।

शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त पत्रकार सम्मेलन पक्राउ परेका तिनै जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार रेहान र महोरमले लाल महोम्मदको हत्यामा प्रयोग भएको हतियार व्यवस्थापनमा सहयोग पुर्याएका थिए । दुवैजना सिधा रुपले हत्यामा संलग्न भने छैनन् ।

आरोपीहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रेहान र महोरमले योजना बनाएको र हतियार व्यवस्थापन गरेको जानकारी दिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार भारतीय नागरिकले वीरगन्जमा दिएको दुईवटा पेस्तोल उनीहरुले काठमाडौं लगेर सुटरलाई दिएका थिए । वीरगन्जमा क्याम्पस पढ्ने उनीहरुले पैसाको लोभमा हतियार काठमाडौंसम्म लगिदिएका हुन् । यद्दपी प्रहरीले दुवै युवकलाई पनि योजनाकार भएको जिकिर गरेको छ ।

 

आरोपीहरुले दुईवटा पेस्तोल ल्याएर काठमाण्डौको नयाँ बसपार्कमा भारतीय मुलका नागरिकलाई दिएर वीरगन्ज फर्केका थिए । दुईजना सुटरले गोली हानेर गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई हत्या गरे । मोहम्मदको हत्या भएको अघिल्लो दिन (२ असोज) मा दुई युवक काठमाडौंबाट बस चढेर तराई फर्केको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरीसँग उनीहरुले भनेका छन्– ‘पैसा आउँछ, पेस्तोल काठमाडौंसँग लगिदिनु भनेपछि ल्याएर छोडेका हौं ।’ काठमाडौंको नयाँ बसपार्कमा मास्क लगाएका भारतिय मुलका नागरिकलाई उनीहरुले दुइ वटा पेस्तोल दिएका हुन् । पेस्तोल रिसिभ गर्नेहरु सुटर हुन् । तर, प्रहरी ती सुटरसम्म अझै पुग्न सकेको छैन् । काठमाडौंका एसएसपी बोहराले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने–‘थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले सार्वजनिक गरेको अर्की युवती मकवानपुरको बकैया घर भएर कपनको फैका बस्ने २१ वर्षीया सुस्मिता स्याङतान उर्फ सुमि हुन् । सुस्मिताले पैसा लिएर गोठाटारस्थित लाल मोहम्मदका गतिविधि निगरानी गर्थिन् । मोहम्मद एडभेन्चर इन्टरप्राइजेज गार्मेन्टबाट निस्केको र फर्केको निगरानी गरेर फोटो खिचेर योजनाकारसम्म पठाउने भूमिका खेलेको अनुसन्धानबाट थाहा भएको छ । लागुऔषध प्रयोगकर्ता समेत रहेकी सुस्मिता चोरी मुद्दामा जेल बसेर निस्केकी हुन् । उनी २०७६ असार ११ देखि फागुन ७ सम्म केन्द्रीय कारागारमा बसेर छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

हत्यामा प्रयोग भएको ‘मेड इन युएसए’ लेखिएको एउटा पेस्तोल घटनास्थलमा फेला परेको थियो । हत्यामा प्रयोग गरिएको दोस्रो पेस्तोल र मोटरसाइकल प्रहरीले बरामद गर्न सकेको छैन । हत्याको योजना भारतीय नागरिक नितेन मदनले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । नितेन फरार छन् । भारतीय खुफिया एजेन्सीको निर्देशनमा अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवको समूहले नितेनलाई प्रयोग गरेर लाल मोहम्मदको हत्या गरेको जानकारहरु बताउँछन् ।

Related posts

बस दुर्घटना अपडेट : वीरगन्जका २ र बाराका ४ सहित १४ जना मृतकको सनाखत

उम्मेदवारी दिने बित्तिकै सांसद पद सकिन्छ: निर्वाचन आयोग

लाल माेहम्मद हत्या प्रकरण : रक्साैलका बब्लु मुख्य याेजनाकार

Leave a Comment