Shere Parsa
राष्ट्रिय हेडलाइन

दिगो पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय समुदायसंग साझेदारी आवश्यक छ : वनमन्त्री यादव

मधेसखबर
वीरगन्ज , १७ भदौ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाल जस्तो पहाडी मुलुकका लागि आफ्ना हिमाली समस्यालाई विश्वव्यापी रुपमा उजागर गर्ने राष्ट्रहरु, क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदाय बीच दिगो पर्वतीय विकासका लागि बलियो साझेदारी आवश्यक रहेको बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय दिगो पर्वतिय वर्ष २०२२ अन्तर्गत ‘मिट द एम्बेस्डर्स’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले दिगो पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय समुदाय बीच बलियो साझेदारी र आवश्यक रहेको बताएका हुन् ।

उनले भने, “हिन्दुकुश हिमाली क्षेत्रमा थप औपचारिक र प्रभावकारी ढङ्गले काम गर्दै विकास गर्नका लागि एउटा मन्त्रिस्तरीय सामूहिक सङ्गठनको आवश्यकता छ , हामी विश्वभरका पहाडी क्षेत्रहरुको समृद्धिको लागि अन्य देशहरुसँग सहकार्य र साझेदारी बढाउन इच्छुक छौं ।”

मन्त्री यादवले संयुक्त राष्ट्र संघको महासभाले सन् २०२२ लाई दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको रुपमा तोकेको समेत जानकारी दिए ।

नेपाल सरकारले आफ्ना हिमालका समस्या र सम्भावनाहरु नागरिक र अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन सक्ने गरी विभिन्न कार्यक्रम र गतिविधि सहितको दिगो पर्वतीय विकास अन्तर्राष्ट्रिय वर्ष मनाउने निर्णय भएअनुसार आफुहरु काममा लागि परेको समेत उनले जानकारी गराए।

नेपालजस्तो पहाडी मुलुकका लागि आफ्ना हिमाली समस्याहरुलाई विश्वव्यापी रुपमा उजागर गर्ने र राष्ट्रहरु, क्षेत्रीय संस्थाहरु र अन्तर्राष्ट्रिय समुदायहरुबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारी खोज्ने यो ठूलो अवसर भएको मन्त्री यादवको भनाई थियो ।

मन्त्री यादवले नेपालमा हिमाल र पहाडले करिब करिब ८० प्रतिशतभन्दा बढी भूभाग ओगटेको तथा ती क्षेत्रमा पर्ने जङ्गल, सिमसार, खेतबारी, दायरा र चट्टान अनी हिउँको परिदृश्यले नेपाली पहाडहरु निकै मनोरम रहनुका साथै ठूलो सङ्ख्यामा वनस्पति र जनावरहरुका प्रजातिका साथै मानव जीविकालाई सहज भएको बताए । हिमाली क्षेत्रहरुमा जलवायु परिवर्तनको प्रभाव, विशेष गरी उच्च पहाडी क्षेत्रहरुमा संसारका अन्य भागहरु भन्दा बढी गम्भीर रहेको र तापक्रम वृद्धिप्रति हिमाली क्षेत्रहरु बढी सम्वेदनशील रहेको मन्त्री यादवको भनाई थियो । हिमालमा जलवायु परिवर्तनको प्रभावले तराईमा पनि प्रभाव पार्ने तथा विशेष गरी पहाड र तराईकोबीचमा पानीजस्ता पारिस्थितिक प्रणाली सेवाहरुको प्रवाहको कारणले हिमालमा पर्ने जलवायु परिवर्तनले तराई क्षेत्रमा पनि प्रभाव पार्ने प्रति मन्त्री यादवले चिन्ता समेत व्यक्त गरे ।

पहाडी क्षेत्रहरु, विशेष गरी विकासोन्मुख देशहरुमा, बढ्दो गरिबी, खाद्य असुरक्षा, वातावरणीय ह्रास, प्रकोपको जोखिम र आधारभूत सेवामा सीमित पहुँच जस्ता धेरै कठिनाइहरु भोगिरहेका कारण समस्या भइरहेको उनको भनाई थियो ।

वन तथा वातावरण सचिव डाक्टर पेमनारायण कँडेलको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा बेलायत, ब्रिटेन, ब्राजिल, इजिप्ट, जापान, श्रीलङ्का, जापान, बाङ्लादेश लगायतका राजदूत तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Related posts

श्रेष्ठ र सोनललाई पनि समर्थकले लगाइ दिए चाँदीको मुकुट

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान : वीरगन्जमा सन्देशमुलक -याली

राष्ट्र बैंकले ल्याएको चालू पूँजी कर्जा मार्गदर्शन प्रति वीरगन्जको नीजी क्षेत्र असन्तुष्ट

Leave a Comment