Shere Parsa
राजनीति

सय सिटको अडानमा काँग्रेस

मधेसखबर
वीरगन्ज,१६ भदौं :सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसभित्र एक सय सिट दाबीको विषय बलियो बन्दै गएको छ। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धनका कारण केही सिट तलमाथि हुन सक्ने अडान छोडेका छैनन्।

सत्तागठबन्धन दलले कति क्षेत्रमा उम्मेदवारी दिने भन्ने विषय सिट बाँडफाँड गर्न बनेको कार्यदलले टुङग्याउन नसके पनि कांग्रेसले भने १०० सिट नछाड्ने अडानमा पार्टी पंक्ति एक ढिक्का हुँदै गएको छ।

सभापति देउवाले बुधबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई बालुवाटारमा बोलाएर सिट बाँडफाँटका विषयमा राय बुझ्न बोलाएका थिए। बालुवाटार पुगेका पदाधिकारीहरूले १ सय सिट दाबीबाट पार्टी तल झर्न नहुने कारणसहित अडान राखेका थिए।

बैठकमा सहभागी सहमहामन्त्री किशोरसिंह राठौरले ‘पाँच दलको गठबन्धन हो। यतिभन्दा भन्दै पनि गठबन्धन मध्यकै कांग्रेस ठूलो पार्टी हो। यसकारण पनि कांग्रेसले सय सिटको अडान छोड्नु हुँदैन भन्ने विषयमै छलफल भयो।’

छलफलमा नेताहरूले गठबन्धन गरेर जाँदा कांग्रेस पार्टीको हैसियतलाई बिर्सन नहुने भन्दै कुनै ठाउँमा कांग्रेसको पक्षमा जनलहर छ र सजिलै जित निकाल्न सकिन्छ भने त्यहाँ गठबन्धनकै अर्को दललाई छाडेर कांग्रेसले त्याग गर्न नमिल्ने पनि बताएका थिए। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७४ को निर्वाचन र २०७९ को स्थानीय चुनावको परिणाम र पार्टीको पछिल्लो संगठनलाई आधार मान्नुपर्ने बताएका छन्।

पौडेलले भने, ‘सिट यति–उतिभन्दा पनि बलियो सिट कांग्रेसले दाबी गर्ने हो। कुन क्षेत्रमा जनमत कति छ ? कुन दलको अवस्था बलियो छ। जनलहर कसको कति छ ? सबै कुरालाई गहिरोमा अध्ययन गरौं भन्ने विषयमा साथीहरूले आ–आफ्ना कुरा राख्नुभयो। साथीहरूले सय सिट दाबी गरौं भन्नु पनि अन्यथा हैन कांग्रेस त्यो दाबी गर्न सक्छ।’ छलफलमा डा. शेखर कोइरालाले गठबन्धन गरेर जाने निर्णय भए तापनि कांग्रेसले जित्ने ठाउँमा अर्को दललाई सिट दिन नमिल्ने बताएका थिए।

कोइरालाको भनाइ उध्रित गर्दै अर्का एक नेताले भने, ‘कांग्रेसले जित्ने स्थानमा अर्को दललाई सिट दिने गल्ती नगरौं जसका कारण गठबन्धनलाई नै बेफाइदा हुन्छ। कांग्रेसलाई धेरै सिट दिने बित्तिकै सिंगो गठबन्धनलाई फाइदा हुने हो। यसकारण पनि कांग्रेसले सय सिटको अडानबाट तल झर्नु हुँदैन।’

बैठकमा पूर्वउपसभापति विजयकुमार गच्छादारले २०७४ सालको आम निर्वाचनको नतिजालाई मात्र आधार बनाएर सिट बाँडफाँटको काममा लाग्न नहुने बताएका थिए। गच्छादारले भने, ‘२०७४ मा बाम गठबन्धन थियो।

त्यतिबेलाको अवस्था हेरेर अहिले निर्णय नलिऔं। अहिले धेरै स्थानमा कांग्रेसको पक्षमा जनलहर बनेको छ। कांग्रेसलाई बढी सिट चाहिन्छ यसमा कसैले आशंका गर्नुपर्ने छैन। गठबन्धन छ भन्दैमा कांग्रेसले सबै ठाउँमा जिताउन पनि नसक्ला ती अवस्थालाई पनि हेरौं।’

नेता अर्जुननरसिंह केसीले गठबन्धन भए २०७४ को समानुपातिक निर्वाचनको परिणामलाई पनि सिट बाँडफाँटको आधार मान्न सकिने बताए। अर्कोतिर गठबन्धन गर्दा जनताको मर्म बुझ्ने गरी गरिनुपर्ने बताए। उनले भने, ‘गठबन्धनका न्यूनतम सिद्धान्त र मापदण्डहरू हुनुपर्छ।

सिट बाँडफाँट गर्दा हरेक प्रतिनिधिसभा क्षेत्रका तीन सिटमध्ये कम्तीमा १ जना कांग्रेसको उम्मेदवार हुनुपर्छ भन्ने हो।’ कांग्रेस गठबन्धनको मात्रै बलियो पार्टी नभई देशमै ठूलो जनलहर भएको पार्टी भएकाले स्वभाविक रूपमा बढी सिट दाबी गर्न सक्ने बताए। ‘गठबन्धनमा सहमतिबाट तालमेल हुन्छ। त्यति हुँदा पनि कांग्रेसले सय सिट दाबी गर्नुपर्छ। परिणाम आउने सम्भावना बोकेकालेनै दाबी गर्ने हो’, उनले भने।

सभापति देउवाले सबै पदाधिकारीहरूको धारणा सुनेपछि गठबन्धन गरेर जाँदा केही न केही त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए। देउवाको भनाइ उध्रित गर्दै एक नेताले भने, ‘सभापतिजीले व्यवहारिक ढंगबाट पनि हेरौं।

पाँच दलको गठबन्धन हो। कांग्रेसले बलियो सिट दाबी गर्ने आधार धेरै बलिया छन्। हामीले सकेसम्म धेरै सिट दाबी गर्ने प्रयास गर्छौ। यद्यपि, गठबन्धनमा सबैको चित्त बुझाउन पनि पर्नेछ। गठबन्धनकै अन्य शीर्ष नेताहरूसँग पनि सल्लाह गरेर सकेसम्म सबै दल लचक भएर प्रस्तुत हुनुपर्छ।’

जम्मा १ सय ६५ सिटमा कांग्रेसले सय सिट दाबी गर्दा गठबन्धनमा आबद्घ अन्य दलहरूले समग्रमा १२७ सिटमा दाबी गरेका छन्। यसै कारण पनि सिट बाँडफाँटको गणित मिलाउन गठबन्धनको कार्यदललाई हम्मेहम्मे परेको छ ।साभार:अन्नपूर्ण पोष्ट

Related posts

सुशासन पार्टीका युवा उम्मेदवार शिव कुमार साह प्रति मतदाताको समर्थन बढ्दै

पर्सा २ मा काँग्रेसको लोकप्रियता बढ्दै, जसपाका प्रभावशाली नेताहरु काँग्रेस प्रवेश

पर्सा क्षेत्र नम्बर ३ मा एमालेको जित सुनिश्चित भयो: केपी ओली

Leave a Comment