मधेसखबर
वीरगन्ज,१५ भदौं :वन तथा वातावरण मन्त्री प्रदीप यादवले मानवीय क्षति न्यूनीकरण गर्नका लागि वन्यजन्तु नियन्त्रणको उपाय खोजिने बताएका छन्।
बर्दिया, शुक्लाफाँटा, चितवन, बारा, पर्सा, झापालगायतका क्षेत्रमा रहेका जङ्गली हात्ती, बाघ, चितुवा, भालुलगायतका वन्यजन्तुले बर्सेनि त्यहाँका नागरिकको ज्यान लिने, बालीनाली नोक्सान गर्ने तथा विभिन्न दुःख दिँदै आएको गुनासा बढेपछि मानवीय क्षति अन्त्य गर्नका लागि मन्त्री यादवले वन्यजन्तु नियन्त्रणको उपाय खोजिने बताएका हुन्।
यही भदौ १३ गते शुक्लाफाँटा नगरपालिका–७ मा १८ वर्षीया मीना जोशीको हात्तीको आक्रमणबाट ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री यादवले अब जङ्गली हात्ती सहितका जनावरको नियन्त्रण तथा क्षति रोक्नका लागि ठोस उपाय खोजिने बताए। उनले भने,’हात्तीलगायतका विभिन्न वन्यजन्तुले बालिनाली नोक्सानसहित मानिसको ज्यानै लिने क्रम बर्सेनि बढ्दै गएको छ, अब नियन्त्रणका लागि ठोस उपाय खोज्छौँ।’ जङ्गली जनावरसहित हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि नियन्त्रणका लागि उपाय खोज्न मन्त्री यादवले मातहतका निकायलाई निर्देशनसमेत दिए।
वनमन्त्री यादवले वन्यजन्तु नियन्त्रणका लागि विद्युतीय तारबारहरुलाई सबै राष्ट्रिय निकुञ्जहरुलगायतका क्षेत्रमा पहिलो प्राथमिकता दिनसमेत निर्देशन दिए। सरकारले हात्तीको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने नीतिगत व्यवस्था गरेको छ। यस्तै घाइते हुने, बाली र घरगोठमा क्षति पुगेका परिवारलाई पनि १० हजार देखि ३० हजार रुपैयाँ सम्म क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ।