Shere Parsa
राष्ट्रिय हेडलाइन

काँग्रेसको समानुपातिकबाट रुंगटा र मन्सुर सांसद बन्न सक्ने सम्भावना छ त ?

वीरगन्ज, १२ मंसिर : सत्तारुढ दलहरुसँग चुनावी गठबन्धनका बाबजुद नेपाली काँग्रेसका थुप्रै शीर्ष नेताहरु समानुपातिक तर्फ बसे । आफूले चुनाव लड्दै आएको क्षेत्र अरु दल वा पार्टीका नेतालाई छाडेर समानुपातिकको बन्दसूचीमा बस्नुको कारण थियो, सहज रुपमा सांसद बन्ने अभिलाशा ।

पर्सा १ बाट पूर्व सांसद अनिल रुंगटा र बारा ३ बाट पूर्व सांसद फरमुल्लाह मन्सुर यो पटक प्रत्यक्षमा चुनाव नलडि मधेसी र मुस्लिम कोटा तर्फ बन्दसूचीमा बसे । यस्तै धनुषा ३ बाट पूर्व उपसभापति बिमलेन्द्र निधि पनि यो पटक मधेसी कोटा तर्फ बन्दसूचीमा बसे । काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतसँग पनि क्षेत्र रोजेर चुनाव लड्ने विकल्प थियो ।

अघिल्लो पटक चुनाव लडेको काठमाडौं–५ मा उनी यस पटक उम्मेदवार बन्नै खोजेनन् । उनि समानुपातिकको खासआर्य पुरुषतर्फ पहिलो नम्बरमा बसे ।रुंगटा , मनस्ुर , निधि र महतमात्र होइन, कांग्रेसका थुप्रै पुरुष नेताहरु छन्, जो सहज रुपमा प्रतिनिधिसभा सदस्य (सांसद) बन्ने योजनाका साथ समानुपातिकको बन्दसूचीमा बसेका छन् ।

स्याङ्जा २ बाट चुनाव लड्दै आएका पूर्व उपसभापति गोपालमान श्रेष्ठ जनजाति पुरुषतर्फ पहिलो नम्बरमा बसे । कास्की–१ का सहमहामन्त्री जीवन परियार दलित पुरुषतर्फ र बारा–३ का फरमुल्लाह मन्सुर मुस्मिल पुरुषतर्फ पहिलो नम्बरमा बसेका छन् । योगेन्द्र चौधरी थारु पुरुषको पहिलो नम्बरमा बसेका छन् ।

प्रत्यक्षको अन्तिम मत परिणाम सार्वजनिक भइनसक्दै समानुपातिकमा बसेर सहज रुपमा सांसद बन्ने शीर्ष नेताहरुको चाहनामा धक्का लाग्ने अवस्था देखिदैछ । किनकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयसँगै प्रतिनिधिसभाको समानुपातिकतर्फ प्रमुख दलहरुको मत निक्कै घटेको छ ।

९३ लाखभन्दा बढी भोट गणना भइसक्दा समानुपातिकमा कांग्रेसले २४ लाख ३ हजार ७५७ मत पाएको छ । यो गणना भएको मतको २५.७८ प्रतिशत हो । जबकी २०७४ मा कांग्रेसले ३१ लाख २८ हजार २८९ मत पाएको थियो, जुन कुल मतको ३२.७८ प्रतिशत थियो । अब गणना गर्न बाँकीमा पनि मत प्रतिशत यही अनुपातमा रहने हो भने कांग्रेसले समानुपातिकतर्फ ३३ सिट पाउने देखिन्छ ।

को–को हुनसक्छन् सांसद ?

समानुपातिकबाट सांसद हुनेहरुको सूची टुंगो लगाउनु पूर्व संघीय संसदमा उसको महिला उपस्थिति हेर्नुपर्छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित ५३ जना, समानुपातिकबाट पाउने (सम्भावित) सिट ३३ र राष्ट्रियसभामा रहेका १० जना गरी संघीय संसदमा कांग्रेसका ९६ जना सदस्य हुन्छन् ।

यसको ३३ प्रतिशतले हुने सख्याँ ३२ जना महिला हुनुपर्छ । प्रतिनिधिसभामा तेह्रथुमबाट सीता गुरुङ प्रत्यक्ष निर्वाचित भएकी छन् भने राष्ट्रियसभा सदस्यमा कमला पन्त, अनिता देवकोटा र दुर्गा गुरुङ छन् ।

अब कांग्रेसले समानुपातिकबाट २८ जना महिला अनिवार्य रुपमा संघीय संसदमा लैजानुपर्छ । बाँकी ५ जना भने अरु जान सक्छन् ।महिलाको ३३ प्रतिशत सख्याँ पु¥याएपछि बाँकी कुन क्लस्टरबाट लैजाने भन्ने प्रष्ट व्यवस्था छैन ।

विगतमा सबभन्दा कम प्रतिनिधित्व हुने समुदायलाई प्राथमिकता दिएर पीछडिएको क्षेत्र तथा अपाङ्गता भएका र मुस्लिम क्लस्टर छान्ने गरिएको थियो ।तर यो पटक निर्वाचन आयोगले निर्णय गरिसकेको छैन । तर, जनसंख्याको अनुपातमा जसको धेरै छ, उनीहरुलाई नै प्राथमिकता दिने सम्भावना रहेको एकजना आयुक्त बताउँछन् ।

त्यसो भएमा महिला कोटा पु¥याएपछिको पहिलो नम्बरमा खासआर्य, दोस्रोमा आदिवासी जनजाति र तेस्रो मधेसी क्लस्टरको पुरुषमा पहिलो नम्बरमा रहेका व्यक्तिहरु सांसद बन्छन् । त्यसपछि क्रमशः दलित, थारु, मुस्लिम, अपाङ्गता भएका तथा पिछडिएको क्षेत्र क्लस्टरको पालो आउँछ ।

अर्थात कांग्रेसबाट प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, जीवन परियार र योगेन्द्र चौधरी सांसद बन्ने छन् । पिछडिएको क्षेत्रबाट सुरु गर्ने हो भने फरमुल्लाह मन्सुर , जयपती रोकाय, योगेन्द्र चौधरी, जीवन परियार र विमलेन्द्र निधि सांसद हुन्छन् । महत र श्रेष्ठ सांसद बन्न पाउने छैनन् ।

हेरफेर हुनसक्छ हिसाब

प्रत्यक्ष तर्फको चार स्थानमा मतगणना सकिएको छैन भने तीन क्षेत्रको सुरु नै हुन सकेको छैन । यसमध्ये दुई क्षेत्र (उदयपुर–१ र सुनसरी ४) मा कांग्रेसको अग्रता छ भने गणना सुरु नै नभएको स्याङ्जा–२ मा उपसभापति धनराज गुरुङ र बाजुरामा सहमहामन्त्री बद्री पाण्डे उम्देवार छन् । उनीहरु सबै जित्छन् भन्ने मान्ने हो भने कांग्रेसको समानुपातिकको हिसाबमा थोरै हेरफेर हुनेछ ।

किनकी संघीय संसदमा काँग्रेसको सदस्य संख्या १०० पुग्छ । जसको ३३ प्रतिशत अर्थात ३३ जना महिला हुनुपर्छ । हाल ४ जना महिला भएकाले प्रतिनिधिसभाको समानुपातिकबाट २९ जना महिला चुन्नुपर्छ । बाँकी ४ जना पुरुषले मात्रै मौका पाउन सक्छन् । त्यसो हुदा पर्साबाट काँग्रेसको बन्दसूचीमा मधेसी कोटामा दोश्रो नम्बरमा परेका अनिल रुंगटा र बाराबाट मुस्लिम कोटामा परेका फरमुल्लाह मन्सुर दुवै जना सांसद बन्नबाट बन्चित हुने प्रबल सम्भावना हुन्छ । यो खबर अनलाइनखबरमा पत्रकार राज कुमार श्रेष्ठले लेखेका छन् ।

 

Related posts

पर्साका १ का जसपा उम्मेदवार यादव भन्छन् : जनता जनार्दन हुन् , काम गरेका नेताको मुल्यांंकन गर्छन्

ओमानबाट थप १ लाख बोरा युरिया मल वीरगन्ज आइ पुग्यो

दशैंका बेला मधेस प्रदेशमा भएका सवारी दुुर्घटनामा २९ को मृत्यु , ३१३ घाइते

Leave a Comment