मधेसखबर
वीरगन्ज,१५ कार्तिक : पर्सा क्षेत्र नम्बर १ (ख) मा नेपाली काँग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार रामनारायण कुर्मीले मङगलबार वीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा चुनावी रोड शो गरेका छन् ।
काँग्रेसका नेता कार्यकर्ताका साथ वडा नम्बर ५ का विभिन्न टोलमा पुगेका बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका कुर्मीले मतदातासंग भेट्दै वीरगन्ज र मधेससंग गद्धारी गनेहरुबाट सचेत रहेर मतदान गर्न आग्रह गरे ।
यहि क्षेत्रबाट जितेर मुख्यमन्त्री बनेका लालबाबु राउतले पाँच वर्षमा भ्रष्टचार बाहेक केहि नगरेको र अहिले फेरि मधेसी दलको नाम भजाउन थालेको भन्दै कुर्मीले भने ,‘ त्यस्ता बहुरुपियाबाट जनताहरु सचेत रहनु पर्छ ।
उनले भ्रष्टचारमा मुछिएका मुख्यमन्त्री राउतले मधेस प्रदेशको नाम समेत बदनाम गरेको भन्दै त्यहि कारण उनको विकल्प जनताले खोजी रहेको र त्यसका लागि आफु नै उपयुक्त रहेको जिकिर पनि गरे ।उनले जनताले आफुलाइ अवसर दिए क्षेत्रमा प्राविधिक विधालय र हरेक वडामा बर्थिङ सेन्टर स्थापना गर्ने , पढेलेखेका युवायुवतीहरुलाइ रोजगारी दिलाउने वाचा पनि गरे ।
चुनावी रोड शो मा नेपाली कांग्रेसका नेता अनिल सिंह,भोला कलवार,किरण सरकार,फिरोज आलम , मुस्तफा अंसारी,सुरज पटेल,मकबुल देवान, विकास तिवारी लगायतको सहभागिता थियो ।