मधेसखबर
वीरगन्ज,२४ असोज : नेपाल प्रतिबन्धित भारतीय नोटको अवैध ओसार पसारमा महिलाको प्रयोग गर्न थालिएको छ ।नेपालमा भारतीय ५ सय , १ हजार र २ हजार दरका नोट प्रतिबन्धित छ ।
ती नोटको अवैध ओसार पसारमा यसअघि पुरुषको मात्रै प्रयोग हुदै आएकोमा अब भने कारोबारीले त्यस्ता प्रतिबन्धित नोटको अवैध ओसार पसारमा महिलाको प्रयोग गर्न थालेका हुन् ।
यसैक्रममा प्रहरीले नेपाल प्रतिबन्धित भारतीय नोट सहित तीन जना महिलालाइ पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगन्ज १६ रजतजयन्ती चोकबाट नेपाल प्रतिबन्धित भारतीय नोट २८ लाख ५६ हजार सहित तीन जना महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुममा नुवाकोट जिल्लाको साविक गाविस शिखरवेसी .७ की ४५ बर्षिया अनिता तामाङ्ग ,त्यही ठाँउकी ४४ बर्षिया सरिता अग्रवाल र धादिङ घर भएकी ३० बर्षिया मन्जु तामाङ्ग रहेका छन् ।
उनिहरुको साथबाट भारतीय २ हजार र ५ सय दरका नोट गरि .२८ लाख ५६ हजार रुपैया बरामद भएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए । बरामद नोटको स्रोत पनि नखुलेको उनले बताए ।
बरामद नोट र पक्राउ परेका महिलाहरुलाई आवश्यक कारबाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको बस्नेतले जानकारी दिए ।