मधेसखबर
वीरगन्ज,२४ असोज : नेपाली काँग्रेसकी नेतृ एवं बाराकी सामाजिक अभियन्ता नारायणी रायमाझीले पार्टीले देशभरका स्वाभिमान कार्यकता माथि गरेको अपमान र प्रहारका विरुद्ध आँफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएकी छिन् ।
बारा क्षेत्र नम्बर ४(क) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि विज्ञप्ती मार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै नेतृ रायमाझीले नेताहरुको व्यक्तिगत स्वार्थ र पार्टी भित्रको आन्तरिक किचलोका कारण आँफू र आँफूजस्ता सयौं कार्यकर्ताको अपमान हुनेगरि नेतृत्वले निर्णय गरेकाले आँफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएकी हुन् ।
बाराका विभिन्न सामाजिक संघसंस्थाहरुमा रहेर सामाजिक अभियन्ताको छवी स्थापित गरेकी रायमाझीको नेतृत्व एवं सहयोगमा थुप्रै कामहरु भएका छन् ।नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य समेत रहेकी रायमाझी बारामा रहेर दुई दशकभन्दा बढि समयदेखि काँग्रेसको राजनीतिमा सकृय छिन् ।
लामो समय काम गरेको पार्टीको निर्णयविरुद्ध लाग्नुपर्ने परिस्थितीलाई बुझिदिन उनले स्थानीय नेता कार्यकर्तालाई अनुरोध समेत गरेकी छिन् । ‘लामो समय काम गरेको पार्टीको निर्णय विपरित उम्मेदवारी दिनुपर्ने परिस्थितीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा बुझ्नुभएका मेरा सहयोद्धाहरुबाट विगतमा जस्तै सहयोगको अपेक्षा गर्दछु ।’ रायमाझीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बारा क्षेत्र नम्बर ४(क) मा काँग्रेसको तर्फबाट टिकट पाउने निश्चित भएपनि अन्तिममा सो क्षेत्र सता गठबन्धनमा रहेको माओबादी केन्द्रलाई दिइएपछि उनको टिकट खोसिएको थियो । गठबन्धनका तर्फबाट माओबादीका क्षेत्रबहादुर श्रेष्ठ उम्मेदवार बनेका छन् ।