मधेसखबर
वीरगन्ज,२१ असोज : सत्ता गठबन्धन बीच निर्वाचन क्षेत्र तालमेलमा सहमति कायम भएको छ । तर यसअघिको छलफलमा जसपालाई छुट्टयाइएको क्षेत्रहरु भने खाली राखिएको छ । ती मध्येका केही सिट लोसपालाई दिने तयारी गठबन्धनको छ ।
सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले १५२ सिट बाँडफाँट गरेका छन् ।
गठबन्धन स्रोतबाट प्राप्त सूचीअनुसार १५२ सिट बाँडफाँट भएको छ भने १३ सिट खाली राखिएको छ ।
यसअघि जनता समाजवादी पार्टीलाई सो क्षेत्र छुट्टयाएको भए पनि एमालेसँगको तालमेलको तयारीमा रहेको हुँदा उक्त क्षेत्र खाली राखिएको छ ।
प्रतिनिधिसभामा १६५ निर्वाचन क्षेत्र रहेको छ । दलहरुले प्रदेशसभातर्फ पनि सिटको बाँटफाँट गरेका छन् ।
जसपालाई छुट्टयाएका केही सिटमा लोसपासँग तालमेल गर्ने तयारी सत्ता गठबन्धनको रहेको छ । लोसपासँग शनिबार बिहान ८ बजेदेखि फेरि वार्ता हुने तयारी छ ।
सन्चारमाध्यमलाइ शुक्रबार बेलुकी प्राप्त गठबन्धनले सहमति गरेको १५२ सिटको सुची अनुसार पर्साका ४ वटा प्रतिनिधीसभा क्षेत्र मध्ये दुइ वटा क्षेत्र काँग्रेसले पाउने भएको छ । काँग्रेसले पर्साको २ र ४ पाउने भएको हो । उक्त सूचीमा पर्साको १ र ३ भने खाली राखिएको छ ।
यस्तै पर्साका ८ प्रदेशसभा क्षेत्र मध्ये २ वटा नेकपा माओवादी केन्द्रले पाउने भएको छ । उक्त सूची अनुसार , पर्साको १ को (क ) र ४ को (ख) माओवादीले पाउने भएको हो । पर्साको २ को (ख) र ४ को (क) भने काँग्रेसले पाउने भएको छ । पर्साको १ को (ख) , २ को (क) , ३ को (क) र (ख) भने अहिले खाली राखिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ। त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ। यसका लागि अब एक दिन मात्र बाँकी रहेकाले पनि शनिबार बिहानै सहमतिलाई अन्तिम रूप दिने तयारी गरिएको छ।