मधेसखबर
वीरगन्ज ,०८ असाेज : नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन फूटबलतर्फ भएको मधेस प्रदेश स्तरीय छनौट प्रतियोगिताको उपाधी बाराले जितेको छ ।
सर्लाहीकाे लालबन्दीमा सम्पन्न फाइनल खेलमा महोत्तरीलाई पराजित गर्दै बारा प्रदेश च्याम्पियन भएको हो ।
प्रदेश स्तरीय छनौट प्रतियोगिताको उपाधी उचाल्ने क्रममा बाराले महोत्तरीलाई ३–२ ले पराजित गरेको हाे । बाराको जितमा उदित नारायण चौधरी, निरज थापा मगर र विवेक चौधरीले एक/एक गरेका हुन्। महोत्तरीका लागि सञ्जिव चौधरी र कृष्ण रानाले गोल गरे ।
छनौट प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताको पहिलो खेलमा पर्सा विरुद्ध २–१ को जित निकालेको बाराले सेमिफाइनलमा धनुषालाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
विजेता र उपविजेता टिमलाई लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी, युवा खेलकुद तथा सामाजिक विकास मन्त्रालयका उपसचिव ठुलोबाबु दाहाललगायतले पुरस्कार वितरण गरेका थिए ।साभार : ईशिलालेख