Shere Parsa
समाज

बाराको आधाभार जंगल क्षेत्रमा यौनजन्य कृयाकलापमा संलग्न ५ महिला पक्राउ


फाइल फोटो

मधेसखबर
वीरगन्ज,२८ भदौं : पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बाराको आधाभार र पसाहा क्षेत्रको जंगल छेउको सडकमा बसेर यौन जन्य क्रियाकलापमा संलग्न ५ जना महिलालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीले यौन कृयाकलापमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएका ती महिला भारतीय नागरिक हुन् ।

आधाभार र पसाहा क्षेत्रको जजंगल छेउको सडकमा बिहान १० बजेदेखि साँझ ४–५ बजेसम्म सवारी रोक्ने र चालक जंगल पस्ने क्रम चलिरहन्छ । प्रहरीका अनुसार उनीहरु यसरी यौन जन्य क्रियाकलापमा संलग्न हुने गरेका छन् । जंगलमा घाँस दाउरा खोज्ने बहानामा ट्रक तथा मोटरसाइकल चालकसँग पैसा लिएरै यौनजन्य क्रियाकलाप हुने गरेको पाइएको छ ।

सीमावर्ती भारतीय राज्य बिहारका विभिन्न जिल्लाबाट आउने महिलाले धेरै वर्षदेखि यस्तो गतिविधि गर्दै आएको दावी प्रहरीको छ । कतिपय महिलाले रक्सौलबाट भन्सार छलेर कपडा ल्याई हेटौंडामा छोड्ने र फर्कदा राजमार्ग क्षेत्रमा बस्ने गरेको पनि पाइएको प्रहरीले जनाएको छ ।

जंगल क्षेत्रमा यौनजन्य क्रियाकलाप हुने गरेको जनगुनासो आएपछि प्रहरीले कारबाही थालेको हो । पक्राउ परेका ती महिलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

जंगलमा यौनजन्य क्रियाकलाप हुने गरेको गुनासो आएपछि नियन्त्रणका लागि अभियान थालिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ‘घाँस दाउरा गरिरहे जस्तो देखिन्छ । पक्रने आधार नै नहुने । यसो सोधपुछ गर्न खोज्दा जंगलै जंगल भाग्ने गर्थे’ उनले भने, ‘यसपटक शंकास्पद गतिविधि गरिरहेको अवस्थामा दुई पटक गरेर ५ जनालाई पक्राउ गर्न सफल भयौं ।’

 

बारा–पर्साका सस्ता होटल र जंगल क्षेत्रमा यौनजन्य गतिविधि हुने गरेको संकेत पाएपछि कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

 

‘समूह समूहमा महिला जंगल छेउमा बस्ने, गाडीवाला, बटुवालाई आकर्षित गरेर यौनजन्य क्रियाकलापमा संलग्न हुने गरेका रहेछन्’, उनले भने ‘राजमार्ग क्षेत्रमा ट्रक रोकेर चालक पनि जंगल पस्ने वा महिलालाई गाडीमा लैजाने गरेको पाइएको छ । जंगल क्षेत्रमा हुने अनैतिक गतिविधिलाई नियन्त्रण गर्छौ ।’

एक पटकका लागि परामर्श गरेर छोडे पनि पुनः त्यस क्षेत्रमा देखिए महिलाहरु विरुद्ध कानुनी कारबाही गर्ने प्रहरीको भनाइ छ । त्यस्तै सवारी चालकलाई पनि कारबाही अघि बढाउने प्रहरी उपरिक्षक बोगटीले बताए ।साभारः अनलाइनखबर

Related posts

पर्सामा विधुत चोरी गर्ने १२ जना पक्राउ

अदालतको एक पक्षीय फैसलाका कारण दुइ सन्तानकी आमा आरती बिचल्लीमा

वीरगन्ज कारागारमा महिला कैदीबन्दीका लागि चिसो खानेपानी मेसिन जडान

Leave a Comment