मधेसखबर
वीरगन्ज, १९ भदौं : एसिया कप क्रिकेटको सुपर चारमा आइतबार भारत र पाकिस्तान खेल्दैछन् । भारत र पाकिस्तान बिचको खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय किक्रेट मैदानमा सुरु हुनेछ ।
प्रतियोगितामा ६ देश सहभागी रहेकोमा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् ।
यसअघि समूह चरणमा भारतले पाकिस्तान र हङकङलाई हराउँदै दुई जितका साथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेर सुपर चारमा स्थान बनाएको थियो भने पाकिस्तानले हङकङलाई हराएको थियो । त्यस्तै समूह ‘बी’ मा अफगानिस्तान शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै सुपर चारमा पुगेका हुन् ।
बङ्गलादेश र हङकङ समूह चरणबाटै बाहिरिएका थिए । शनिबार बेलुकी भएको सुपर चारको पहिलो खेलमा श्रीलङ्काले अफगानिस्तानलाई हराएर फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सुपर चारमा चार टोली बीच एकअर्कामा प्रतिस्पर्धा हुनेछ ।
मङ्गलवार भारत र श्रीलङ्का, बुधवार पाकिस्तान र अफगानिस्तान, बिहीवार भारत र अफगानिस्तान तथा शुक्रवार श्रीलङ्का र पाकिस्तान बीच खेल हुनेछ । हरेक टोलीले एक अर्काबीच खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो आइतबार हुनेछ ।