Shere Parsa
स्थानिय हेडलाइन

राजमार्गमा पर्ने दुधौरा खोलाको पुल ४ बर्ष देखि अधुरै

मधेसखबर
वीरगन्ज ,१९ भदौ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलाको पुल बनाउन चार वर्षअघि ठेक्का लागे पनि हालसम्म निर्माण पूरा हुन सकेको छैन । ठेक्काको तीन वर्षमा निर्माण भइसक्नुपर्ने सम्झौता भए पनि हालसम्म ३० प्रतिशत मात्र काम भएको हो ।

दुधौरा पुलको पिलर भासिएपछि ४ लेनको नयाँ पुल बनाउन पुल सेक्टर नम्बर २ आयोजनाले २०७५ असारमा ठेक्का लगाएको थियो ।महादेव खिम्ती हिराचन जेभी काठमाडौंले २ स्पानको ९० मिटर पुल बनाउन १७ करोड २२ लाखमा ठेक्का सकारेको थियो । आयोजना प्रमुख केदारप्रसाद नेपालका अनुसार ४ वर्षमा २ वटा जग मात्र ठड्याइएको छ । ‘पटकपटक ताकेता गर्दै आएका छौं । तर बनाएको छैन,’ उनले भने, ‘ठेकेदारको हेलचेक्र्याइँले पुल बन्न सकेको छैन ।’

ताकेता गर्दा म्याद थपका लागि निर्माण व्यवसायीले निवेदन दिएको उनले बताए । ‘निवेदनसँगै आउँदो २०८० असारभित्र निर्माण सक्ने लिखित प्रतिबद्धता गरेका छन्,’ उनले भने, ‘कोभिडले निर्माण सामग्रीको अभावसँगै महँगीले काम गर्न नसकेको कारण देखाएको छ ।’

पुल नबन्दा डाइभर्सनबाट सवारीसाधन ओहोरदोहोर गर्छन् । ४० वर्षअघि निर्माण गरिएको पुलको पिलर भासिएपछि नयाँ पुल बनाउन थालिएको हो । ट्राफिक कार्यालय पथलैयाका अनुसार उक्त राजमार्ग भएर दैनिक दुई हजारभन्दा बढी गाडी गुड्ने गरेको छ । ‘ठेकेदारले नियमित रूपमा काम गरेको भए अहिलेसम्म पुल बनिसक्थ्यो । तर ठेकेदारले काम गर्नै चाहँदैनन्,’ आयोजनाका इन्जिनियर दिवश सिलवालले भने । साभार : कान्तिपुर

Related posts

तिलावे पुलको उद्घाटन , अब आवागमन सहज हुने

रिजालको पक्षमा जनलहर बढ्दै , एमाले र जसपाका ५० नेता कार्यकर्ता काँग्रेस प्रवेश

डेढ महिनामा वीरगन्ज महानगरकाे आन्तरिक आम्दानी साढे सात कराेड

Leave a Comment