माधुरी महतो
भाद्र ५, २०७९ वीरगञ्ज — वीरगञ्जमा विद्युत् कटौतीको समस्याले उपभोक्ता हैरान भएका छन् ।
चर्को गर्मी त्यसमाथि पनि छिनछिनमा हुने विद्युत् कटौती र कम भोल्टेजको समस्याका कारण आजित भएको स्थानीयवासीले गुनासो गरेका छन् । तुलनात्मक रूपमा वीरगञ्ज लगायत पर्सा जिल्लाकै विद्युत् आपूर्तिमा समस्या देखीएको छ ।
मुलुक लोडसेडिङ मुक्त घोषणा गरिए पनि हाल भईरहेको घण्टौ सम्मको विधुत कटौतीले त्यस्तो अनुभूति गर्न नपाएको वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का दिनानाथ प्रसादले गुनासो गरे ।
विहानदेखी बेलुकी सम्म छिनछिनमा लाईन जाने र राती सुत्ने बेला हुँदा प्रत्येक दिन जसो लाईन कट्ने हुँदा गर्मीले निदाउनै नसकिएको उनको गुनासो छ ।
छिनछिनमै विद्युत् जाने र अबेर राती लाईन आउने त कहिले आउँदै नआउने समस्या बढेपछि खासगरी बृद्धवृद्धा र साना बालबालिका तथा गर्भवती महिलालाई समस्या हुन थालेको छ ।
स्थानीयवासी सरीता देवी भन्छिन् ‘मुलुक लोडसेडिङ मुक्त भएको भनिएको छ, तर पछिल्लो समय छिनछिनमा लाईन जाने र कुनै बेला लाईन कटेपछि घण्टौसम्म पनि नआउने गरेको कारण रातभरि गर्मीले बेहाल भइरहेका छौं, हाम्रो गुनासो सुनिदिने पनि कोही छैनन् । ,’
निजी विधालयमा अध्ययनरत एक विधार्थी आँचल कुमारीले हाल विधालयमा परीक्षा चलिरहेको बेला दिनभरी रातभरी छिनछिनमा लाईन काट्दा गर्मीका कारण पढ्न नसकेको बताईन् ।
विद्युत् अनियमित तरीकाले पटक पठक जाने आउने हुँदा विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको उपभोक्ताहरुको गुनासो छ ।
विद्युत् अनियमित भएकै कारण विद्युतीय सामग्री खराब हुन थालेको ,बिजुलीबाट चल्ने व्यापार, व्यवसाय प्रभावित भईरहेको उनीहरुको गुनासो छ । यसका साथै विधुतको भोल्टेज पनि केही समयदेखी सन्तुलित नहुँदा विध्ुतीय सामान, उपकरण जल्ने , खराब हुने समस्या भईरहेको उनीहरु बताउँछन् ।
विद्युत् प्राधिकरणले भने माग अनुसार आपूर्ति हुन नसक्दा विद्युत्को अनियमित कटौती भइरहेको जनाएको छ । भोल्टेजको समस्या भने वीरगञ्जमा मात्र नभई देशभरी नै रहेको विधुत प्राधिकरणको भनाई छ ।