Shere Parsa
कृषि हेडलाइन

भारतले गण्डक नहरमा प्रयाप्त पानी नदिदा पर्सा बाराका किसान समस्यामा

फाइल फोटो

मधेसखबर
वीरगन्ज ,०३ भदौ : भारतले गण्डक नहरमा सम्झौता अनुसार पर्याप्त पानी नछोड्दा पर्सा र बारामा नहरको पानी वितरणमा समस्या भएको छ ।

भारतले हाल नहरमा ४ सयदेखि ४५० क्युसेक सम्म मात्र पानी पठाइरहेको छ । जसका कारण सिँचाइ हुन नसक्दा धानखेत पटपटी फुट्न थालेको र धानबाली सुकेको पर्साा र बाराका किसानले दुखेसो पोखेका छन् ।

 

भारतले गण्डक नहरमा सम्झौता अनुसार पर्याप्त पानी नछोड्दा माग अनुरूप सिँचाइका लागि पानी वितरण गर्न नसकिएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर सुबोध कुशवाहाले स्विकारे । ‘किसानलाई धान बालीमा सिँचाइ चाहिने बेलामा भारतीय पक्षले सम्झौताको झन्डै आधा परिमाणमा मात्रै पानी दिइरहेको छ,’ उनले भने, ‘हामीलाई किसानको माग धान्नै गा¥हो भइहेको छ ।’

 

गण्डक सम्झौता अनुसार भारतले बर्सेनि धानबालीका लागि असार १५ र गहुँबालीका लागि पुस १० गते देखि गण्डक नहरमा ८५० क्युसेक पानी पठाउनुपर्छ । नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतले गण्डक नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किलोमिटर यात्रा गरेर गण्डक नहरको पानी पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलबाट नेपाल प्रवेश गर्छ ।

 

पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाई नेपालतर्फ ८१ किमि छ । हाल नहरमा पानीको प्रवाह कम हुँदा ११ नम्बर ब्लकअन्तर्गत बाराको लक्ष्मीपुर कोतवालीको जमुनी क्षेत्रसम्म मात्र पानी पुगेको कुशवाहाले बताए ।

 

समस्या समाधानका लागि पटक–पटक भारतको रामनगरस्थित दोना कार्यालयका एसडीओसँग वार्ता भएपनि चासो नदिइएको कुशवाहाले बताए । ‘कार्यालयबाट हाम्रो प्राविधिक टोली नहरको बाटो हुँदै रामनगर पुगेर त्यहाँका अधिकारीसँग प्रत्यक्ष भेटघाटसमेत गरेर समस्या समाधानका लागि आग्रह ग¥यौं,’ उनले भने, ‘तर भारतीय पक्ष त्यति गम्भीर देखिएन । भारतमा नहरको सफाइ नभएको र ठाउँठाउँमा संरचना जिर्ण भएकाले नहर पूर्णक्षमतामा चलाएको पाइएन ।’

 

यसवर्ष धान रोपाइँकै बेला नहरको भारततर्फको खण्डमा चुहावटको समस्या आएको थियो । उक्त समस्या समाधान गरी भारतीय पक्षले पानी दिए पनि पर्याप्त आउन सकेको छैन । हाल तिलाबे ब्यारेजबाट २ सय क्युसेक पानी नहरमा छाडेर काम चलाइए पनि त्यो पर्याप्त नरहेको कुशवाहा बताउँछन् । यसवर्ष अकाशे वर्षा कम भएकाले पनि नहरमा आश्रित किसानबीच पानीको माग उच्च रहेको उनको भनाइ छ ।

 

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाललाई गण्डक नहर हस्तान्तरण गरेको थियो । गण्डक नहरबाट पर्सा, बारा र रौतहटको गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य भए पनि बर्सेनि यावत् समस्या देखाउँदै भारतले सम्झौताअनुरुपको पानी नेपालतर्फ पठाउँदैन । गण्डक ब्यारेजको निर्माण भारत आफैंले गरेको र सन्चालन पनि उसैले गर्ने गर्छ । उसले ब्यारेजबाट नेपालभन्दा आफ्नै भूमिमा बढी सिँचाइ गर्ने गरेको छ । साभार : कान्तिपुर

Related posts

पर्सामा माओवादीले आकांक्षी उम्मेदवारको नाम टुङगो लगायो

वीरगञ्जको दुई छुट्टा छ्टटै स्थानमा निशुल्क आँखा तथा दंत शिविर आयोजना

आलम हत्यामा जन्मकैदको सजाय पाएका एमालेका पूर्वसांसद प्याशी जेलबाट रिहा

Leave a Comment