माधुरी महत्तो
वीरगन्ज,२१ कार्तिक : विभिन्न राजनीतीक दलका उम्मेद्वारहरुले दैनिक गाउँ गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेको देखीन्छ तर चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिदैनन् । जितेर गएपछि आफ्नै दुनो सोज्याउने काम मात्र नेताहरुले गरेको भन्दै यसपालि मतदाताहरु दल र उम्मेदवारहरु प्रति असन्तुष्ट छन् ।
नेताहरुले आफ्ना चुनावी वाचा पूरा नगर्दा सबै भन्दा बढि गाँउघर महिला मतदाताहरु असन्तुष्ट देखिन्छन् । ग्रामीण भेगका मतदाताहरु चुनावका बेला भाषणा जे गरेपनि चुनाव जितेर गइसकेपछि फेरि उहि पारा देखाउने भएकाले उम्मेदवारलाई पत्याउन छाडेको बताउछन् ।
वर्षाैदेखी प्रत्येक चुनावमा उम्मेदवारहरुले भोट माग्ने बेला विकास निर्माणका ठूलठूला योजना ल्याएर गाउँको कायापलट नै गरिदिने आश्वासन दिने तर जितेर गएपछि पाँच वर्ष सम्म अनुहार देखाउन समेत नआउने गरेको महिला मतदाताहरु बताउँछन् ।
रोजगार , शिक्षा , स्वास्थ्य , विधालय , सडक लगायतको सुविधा मिल्ने र गाउँमा विकासको लहर ल्याउने जस्ता नारा प्रत्येक चुनावका बेला हुन्छ तर उतm आश्वासन नारामा सिमित हुने गरेको उनीहरुकोे गुनासो छ । जिताएर पठाएका नेता विकास ल्याउनुको साटो आफ्नै र आफ्नोका विकासमा लाग्ने गरेको उनीहरुको दुखेसो छ ।
दलका उम्मेदवार फेरी पनि आशवसनको पोको लिएर घरदैलोमा पुग्न थालेका छन् । आफु जिते, गाउँ गाउँमा सडक, स्वास्थ्य, खानेपानी, सिचाई,विधालय लगायत सबै बनाइ दिने आशवासन फेरी दोहोर्याईरहेका छन् । निर्वाचन नजिकिएपछि लावालस्करका साथ दलबल सहित झण्डा फहराउँदै उम्मेदवारहरु गाउँ पसेर आश्वासनका पोका बाँडिरहेका छन् ।
तर अहिले मतदाता भने नेता र उम्मेदवकार आश्वासनमा अब विश्वास नगर्ने बताउँछन् ।रौतहटकी ४६ वर्षिया सिमा देवी भन्छिन् , ‘ जितेपछि त नेताहरुको मुख हेर्न नी पाईदैन , जितेपछि भोलि देखी नै विकासको अनुभुती हुने गरी गाउँमा कार्य सुरु हुन्छ भन्छन् तर पाँच वर्ष वितिसक्यो केही राम्रो विकास देखीएन अनुभुत गर्न सकिएन ।
नेताहरु प्रति आक्रोश पोख्दै सिमा देवी थप्छिन् ,‘ नाला छैन , सडक छैन , स्वास्थ्य चौकीमा जरुरी परेको बेला निशुल्क औषधी समेत पाईन्न , नेताहरुले हाम्रो भोटको कदर नै गरेनन् , हाम्रा दुःख जहाँका त्यही छन् , त्यसैले त यसपालि सोचेर मात्रै विकास गर्ने गरीबलाई हेर्ने व्यतिmलाई भोट दिने निर्णयमा छु ।
स्थानीय ३५ वर्षिया प्रमिला राम पनि गाउँमा सबैलाई सहज हुने गरी विकास गर्ने नेताहरुको आश्वासन , चुनावमा मात्रै सिमित हुदै आएको गुनासो गर्छिन् । उनी भन्छिन् ,‘ यो भन्दा पहिलेको चुनावमा गाँउमा धर्मशाला बनाईदिन आग्रह गरयौ , नेता जीले जितेको भोलि पल्ट देखी नै काम शुरु भइहाल्छ भन्नु भयो तर उहा जितेर गएको पाँच वर्ष बितिसक्यो अहिले सम्म केहि भएन , अहिले फेरि त्यहि नेता जी भाट माग्न आइरहनु भएको छ ।
बाराको परवानीपुरकी सोनमती देवी भन्छिन् , गाउँमा भोट माग्न आउँदा वर्षाैवर्षको चिनजान भएको जस्तो अपनत्व देखाउने गरेको भएपनि जितेपछि गुहार माग्न जाँदा चिन्दिन भन्छन् , घर बनाईदिने , एक घर एक रोजगारीको व्यवस्था गरि दिने भन्दै सपना देखाए , तर पाँच वर्षमा केहि पनि गरेनन् ।उनि थप्छिन् ,‘ गाउँभरीमा एउटा मात्रै स्कुल छ , तर राम्रो पढाइ नहुदा बालबच्चाको भविष्य बिग्रिरहेको छ , हामी दलितका लागि हेरि दिने कोहि नेता छैनन् ।
आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मधेश प्रदेशमा ३४ लाख ८४ हजार ६ सय २८ मतदाता रहेका छन् भने मधेश प्रदेशमा ६४ वटा प्रदेशसभा र ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । मधेस प्रदेशमा ७६७ जना उम्मेदवार यसपालि रहेका छन् । प्रदेशमा दुई हजार एक सय ५६ मतदान स्थल र चार हजार दुई सय ३५ मतदान केन्द्र कायम भएको आयोगले जनाएको छ ।
पर्सामा पुरुष एक लाख ९४ हजार ९ सय ४, महिला एक लाख ५१ हजार आठ र अन्य १६ गरी कुल तीन लाख ४५ हजार ९ सय २८ मतदाता रहेका छन् ।
गाउँदेखी शहरसम्म उम्मेदवारहरू भोट माग्ने चटारोमा छन् । चुनाव जित्नका लागि मधेश प्रदेशमा राजनितिक दलहरुले चुनावी गठबन्धन गरेर अगाडी बढेका छन् ।
निर्वाचनको मिति नजिकिँदै गर्दा मधेश प्रदेशका राजनीतिक दलका उम्मेदवारहरु आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरुमा खासगरी केन्द्रित गर्न थालेका छन्। लाउड स्पिकर ,कार्यकर्ताहरुसहित भोट माग्दै जनताका घरदैलोमा उम्मेदवारहरु पुग्न थालेका छन्।
तर ग्रामीण भेगका किसानलाई भने चुनावले नछोएको पर्सा विन्दसिनीका ७० वर्षिय हरी शंकर प्रसाद बताउँछन् ।उनी भन्छन् , ’ नेताहरु आफ्नो जरुरी परेको बेलामा आउँछन् अनि त्यसपछि कोही आउँदैनन् । हेर्नुस न केही विकास भएको छैन हाम्रो गाउँमा । खेती किसानीका लागि खाद, सिचाँई सबै महँगो भईसक्यो । देशमा राजा भएको पालामा सबै चिज सस्तो थियो । हामी खुशी थियौँ र आफ्नो परिवारसंग खुशी खुशी बस्थ्यौँ । तर अहिले परिवारका छोरा विदेश ,कोही सदस्य कमाउन अन्तै जिल्ला र परिवार टुहुरो जस्तो बस्नुपरेको छ । के यही हो त विकास ” ।
बाराका २६ वर्षिय मन्जेश पटेल भन्छन् , ’ गाउँमा सडक नबन्दा दुर्घटनाको जोखीम हुने गरेको छ । हामी जस्तो युवाका लागि रोजगार वा स्वरोजगार नहँुदा गाउँका अधिकांश युवाहरु यतीकै भौतारीनु परेको वा बाध्यताले विदेशीनु बाहेकको विकल्प छैन । गरीबका बालबालिकाको लागि त न गुणस्तरीय विधालय छ न त औषधी उपचारका लागि गुणस्तरीय स्वास्थय चौकी नै । चुनावको बेलामा युवालाई प्रचार प्रचारमा विभिन्न प्रलोभन दिएर खटाईने गरीएको भएपनि चुनाव जिते वा हारेपछि युवाहरुबारे विचार गरीदिने कमै मात्रामा त्यस्ता नेता भेटीन्छन् । तर हाम्रा तिर त्यस्ता कोही छैनन् । ”
चुनावका बेला जनतालाई ढाट्ने मात्रै काम गरि आएको कारण दैनिक ज्याला मजदुरीमा गुजारा चलाउने जस्ता मजदुर वर्गलाई पनि निर्वाचनप्रति खासै उत्साह छैन।पहिलेको भन्दा केही सकारात्मक कार्य पनि भएको भएपनि अधिकाशं स्थानमा चुनाव जित्ने नेताका अवस्था तथा व्यवस्था फेरिए होलान् तर हाम्रो अवस्था जस्ताको तस्तै छ रहेको महिला मतदाताहरु गुनासो गर्छन् ।
अहिले निर्वाचनले छोपेको बेला भोट माग्दै विकासको नारा फलाक्दै हिडेका नेता तथा उम्मेदवारहरुका कुरामा खासै विश्वास नलागेको तथा सडक विस्तार, शिक्षमा सुधार , स्वास्थ्य तथा रोजगारीमा पहुँच , खानेपानी , फोहोर व्यवस्थापन लगायत राम्रो बनाउने संगै भोट हाल्न सिकाउने दायित्वलाई पनि उम्मेदवारहरुले अबको दिनमा पुरा गर्न सक्ने व्यतिmलाई मात्रै जनताले चुनेर पठाउने महिला मतदाताहरुको भनाई छ ।