Shere Parsa
खेलकुद

टी–२० विश्वकप क्रिकेटमा बंगलादेश माथि भारतको रोमान्चक जित

वीरगन्ज, १६ कार्तिक : अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा बुधबार भारतले बंगलादेशलाई पराजित गरेको छ ।

वर्षाले प्रभावित खेलको दोस्रो इनिङ्समा बंगलादेशमाथि रोमाञ्चक जित निकालेसँगै भारत सुपर १२ को समूह बी मा चार खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । योसंगै उसले सेमिफाइनल पुग्ने सम्भावना बलियो पनि बनाएको छ । बंगलादेश भने चार खेलबाट ४ अंकसहित तेस्रो स्थानमै यथावत छ ।
भारतले अन्तिम खेल जिम्बावेसँग खेल्नेछ भने बंगलादेशले पाकिस्तानसँग खेल्न बाँकी छ ।

बुधबार भएको खेलमा १८५ रनको लक्ष्य पछ्याएको बंगलादेशले दोस्रो इनिङ्समा पानी परेपछि १६ ओभरमा १५१ रनको नयाँ लक्ष्य पाएको थियो । तर, उसले ६ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो ।

भारतले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर लिट्टन दासले आक्रमक ब्याटिङ गरेपछि बंगलादेशले ७ ओभरमै विना क्षति ६६ रन बनाएको थियो । त्यसपछि पानी पर्दा खेल केहिबेर रोकियो । वर्षा रोकिएपछि चार ओभर घटाएर फेरि सुरु भयो र बंगलादेशले १६ ओभरमा १५१ रनको नयाँ लक्ष्य पाएको थियो । बंगलादेशले खेल जित्न ५४ बलमा ८५ रन बनाउनुपर्ने भयो ।वर्षापछिको खेलमा बंगलादेशले ‘मोमेन्टम गुमायो’ भने भारतले पुनरागमन ग¥यो ।

पुनः सुरु भएको खेलको दोस्रो बलमै लिट्टोन दास रन आउट भए । उनले २७ बलमा सर्वाधिक ६० रन बनाए । यस क्रममा ७ चौका र ३ छक्का प्रहार गरे । लिट्टन आउट भएपछि बंगलादेशले लगातार विकेट गुमायो । दशौं ओभरको पहिलो बलमा अर्का ओपनर नाजमुल होसेन शान्तो आउट भए । उनले २५ बलमा २१ रन बनाए ।

१२ औं र १३औं ओभरमा बंगलादेशले दुई–दुई विकेट गुमायो । भारतका अर्शदीप सिंहले १२ औं ओभरमा आफिफ होसेन र कप्तान शकिब अल हुसेनलाई आउट गरे । शकिबले १३ र अफिफले ३ रन बनाए ।त्यसपछि हार्दिक पाण्ड्याले यासिर अली र मोसाडेक होसेनलाई एकै ओभरमा आउट गरेपछि १३ ओभर सकिँदा बंगलादेश १०८–६ को अवस्थामा पुग्यो ।

अन्तिम ३ ओभरमा बंगलादेशलाई जितका लागि ४३ रन आवश्यक थियो । क्रिजमा रहेका विकेटकिपर ब्याटर नुरुल हसन र तस्किन अहमदले इनिङ्स अघि बढाए ।बंगलादेशले १४औं ओभरमा १२ र १५औं ओभरमा ११ रन जोडेपछि अन्तिम ओभरमा जितका लागि २० रन आवश्यक भयो । अर्शदीपले बलिङ गरेको उक्त ओभरमा बंगलादेशले एक छक्का र एक चौकासहित १४ रन मात्र जोड्न सक्यो ।

नुरुल हसनले १४ बलमा अविजित २५ रन बनाए । तस्किनले ७ बलमा अविजित १२ रन जोडे ।भारतका लागि अर्शदीप र हार्दिकले २–२ विकेट लिए । मोहम्मद शामीले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले केएल राहुल र विराट कोहलीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । यसअघि लगातार फ्लप हुँदै आएका केएल राहुल बंगलादेश विरुद्ध भने ३२ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा ५० रन बनाए ।

कोहलीले अविजित ६४ रन बनाउने क्रममा ४४ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे । सूर्यकुमार यादवले १६ बलमा ३० रन बनाए । रविचन्द्र आश्विनले ६ बल खेल्दै अविजित १३ रन जोडे ।बंगालदेशका लागि हसन महमुदले ३ तथा कप्तान शकिब अल हसनले २ विकेट लिए ।

Related posts

आफू निर्दोष भएको बताउँदै सन्दिपले भने : म सीपीएल छाडेर देश फर्कदै छु

टि–२० विश्वकपमा भारतसंग पाकिस्तान फेरि पराजित

अन्तिम खेल जित्दै सेनेगल पनि विश्वकपको अन्तिम १६ मा

Leave a Comment