Shere Parsa
धर्म/संस्कृति हेडलाइन

तिहार शुरु , आज धनतेरस

मधेसखबर
वीरगन्ज ,०५ कार्तिक: नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज (शनिबार)देखि शुरु भएको छ । तर काग तिहार भने भोलि आइतबार कात्तिक ६ गते परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १० गते छ ।

 

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

 

बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ । आइतबार बेलुकी ५ः०४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बेलुकी ५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु भएकाे समितिले जनाएको छ । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ प्राध्यापक अधिकारीले भने ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

 

यसैगरी धनत्रयोदशी धनतेरस पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ ।यसपालि तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । सोही दिन बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए ।

सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म पूजा कात्तिक ९ गते बुधबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।

 

तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ ।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

Related posts

तेली कल्याण समाजकाे केन्द्रीय अध्यक्षमा पर्साका विश्वनाथ प्रसाद तेली चयन

बस दुर्घटना अपडेट : वीरगन्जका २ र बाराका ४ सहित १४ जना मृतकको सनाखत

पर्साका काँग्रेस सभापति क्षेत्रीकाे नाम प्रदेश सांसदमा सर्वसम्मतले सिफारिस

Leave a Comment