Shere Parsa
राजनीति हेडलाइन

पर्साकाे १ र २ मा जसपा गठबन्धन , पर्सा ३ र ४ मा काँग्रेस गठबन्धन अगाडि

मधेसखबर
वीरगन्ज ,२६ असाेज : सत्तामा रहेको जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर चुनाव लड्ने निर्णय गरेपछि मधेस प्रदेशमा दुई प्रमुख गठबन्धनबीच चर्को प्रतिस्पर्धाको स्थिति पैदा भएको छ।

एकातिर नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छन् भने अर्कोतिर एमाले र जसपाको गठबन्धन छ।

स्थानीय चुनावको परिणामलाई हेर्ने हो भने मधेसमा कांग्रेस सबैभन्दा ठूलो दल हो भने एमाले र जसपा दोस्रो र तेस्रो ठूला दल हुन्। लोसपा चौथो र माओवादी केन्द्र पाँचौ तथा एकीकृत समाजवादी छैठौं ठूलो दल हो।

गत स्थानीय निर्वाचनमा कांग्रेसले ४६ वटा पालिकाको नेतृत्व जितेको छ भने एमालेले ३०, जसपाले २५, लोसपाले १४, माओवादी केन्द्रले ९ र एकीकृत समाजवादीले ६ पालिकका प्रमुख जितेका छन्।

यसरी कांग्रेस नेतृत्वको गठबन्धन जम्मा ७५ पालिकाको नेतृत्व जितेको छ भने एमाले नेतृत्वको गठबन्धनले जम्मा ५५ पालिकामा नेतृत्व जितेको छ। जसका कारण मधेसमा सत्ता गठबन्धन बलियो देखिएको छ।

वडा तहको मत विश्लेषण गर्दा कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धन ३२ मध्ये २६ निर्वाचन क्षेत्रमा अगाडि देखिन्छ भने एमाले नेतृत्वको गठबन्धन मात्र ६ निर्वाचन क्षेत्रमा अगाडि देखिन्छ। तर कैंयन निर्वाचन क्षेत्रमा दुई गठबन्धनबीच मतको अन्तर एकदमै कम छ। त्यसले निर्वाचनको परिणामबारै अहिले नै यकिनका साथ भन्न कठिन छ।

पर्साका ४ क्षेत्रमध्ये २ क्षेत्रमा ( ३ र ४ मा) सत्ता गठबन्धन र २ क्षेत्रमा (१ र २ मा) एमाले-जसपा गठबन्धन अगाडि छ। पर्सा क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा एमाले जसपा गठबन्धन अगाडि छ । पर्सा क्षेत्र नम्बर १ जसपा र २ एमालेको भागमा परेको छ। सत्ता गठबन्धन भने पर्सा ३ र ४ मा अगाडि छ । सत्ता गठबनमा पर्सा १ लाेसपाकाे भागमा परेकाे छ भने पर्सा २ , ३ र ४ काँग्रेसकाे भागमा परेकाे छ।

गत स्थानीय तह निर्वाचनमा प्राप्त मतका आधारमा पर्सा १ मा जसपा एमाले गठबन्धनकाे मत २९०४१ छ भने काँग्रेस गठबन्धनकाे मत २०३३७ छ ।

यस्तै पर्सा २ मा जसपा एमाले गठबन्धनको मत ३२१६३ छ भने काँग्रेस गठबन्धनको मत २८२१९ छ।

पर्सा ३ मा काँग्रेस गठबन्धनको मत ३१२४६ छ भने जसपा एमाले गठबन्धनको मत ३०८५० छ ।

पर्सा ४ मा काँग्रेस गठबन्धनको मत ३२४४६ छ भने जसपा एमाले गठबन्धनको मत ३२७४५ छ ।

Related posts

मधेस र देशभर अहिले पाँच दलीय गठबन्धनकै लहर छ : अजय चौरसिया

कामको मूल्यांकन गरेर फेरी एक पटक अवसर दिन लोसपा उम्मेदवार कुर्मीको आग्रह

मधेसमा मौलाउदै कुश्ती खेल

Leave a Comment