Shere Parsa
राजनीति हेडलाइन

पर्सामा जसपा–एमाले गठबन्धनको चेतावनी : बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही हुन्छ

मधेसखबर
वीरगन्ज,२४ असोज : पर्सामा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ती दुइ दल सम्बद्ध नेताहरुलाइ उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ । उम्मेदवारी फिर्ता नलिइए पार्टीले कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

सोमबार वीरगन्जमा बसेको जसपा–एमालेको संयुक्त बैठकले पार्टीको निर्णय विपरित बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो । जसपा–एमाले गठबन्धनका विवरुद्ध बागी उम्मेदवारी दिएका जुनसुकै नेताले तोकिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएमा कारवाही गर्ने चेतावनी समेत बैठकले दिएको छ ।

जसपा–एमालेको संयुक्त बैठकले पार्टीबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिनेहरुलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिन लगाउने र नलिएका खण्डमा पार्टीबाट कारवाही गर्ने निर्णय गरेको वन तथा वातावरणमन्त्री प्रदीप यादवले जानकारी दिए ।

आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराउने क्रममा जसपा र एमालेबाट टिकट नपाएपछि ती दुवै दलका थुप्रै नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पर्सामा जसपा एमाले गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध मनोनयन दर्ता गराएका पार्टीका सबैलाई असोज २५ गते मङ्गलबारसम्म आ आफनो उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको जानकारी यादवले दिए । पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका यादवले भने, ‘कसैलाई चित्त नबुझेको हुन्छ , उहाँहरूलाई कहीँ न कहीँ व्यवस्थापन गर्ने विषयमा दुवै पार्टीले सोचेको छ , पार्टीको सिपाही भएका नाताले उहाँहरूले उम्मेदवारी फिर्ता लिनुहुन्छ , यदि उम्मेदवारी फिर्ता भएन भने पार्टीले कारबाही गर्छ ।

 

त्यस्तै सोमबारको बैठकले जसपा एमाले गठबन्धनका संयुक्त उम्मेदवारहरुलाई जिताउनका लागि संयुक्त निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । समितिमा जसपाको तर्फबाट रामनरेश यादव ,तबरेज अममद, बालकिशोर यादव, इश्वरचन्द्र यादव, अजय सर्राफ र नेक मोहम्मद मियाँ छन् र त्यस्तै समितिमा नेकपा एमालेको तर्फबाट प्रभु हजरा, निर्मला देवकोटा, मनोज गुता, प्रदुमन चौहान, राजेन्द्र यादव र जयप्रकाश थारु छन् ।

बैठकले पार्टीको निर्णय विपरित गतिविधि गर्ने दुवै पार्टीका नेताकार्यकर्ताहरुलाई आवश्यकता अनुसार सचेत गराउने निर्णय पनि गरेको छ । सचेत गराउँडा पनि गठबन्धन विपरित गतिविधि गरेको पाइएमा कारवाहीको प्रक्रिया अगाडि बढाउने बैठकले निर्णय गरेको मन्त्री यादवले जानकारी दिए ।

सोमबारको बैठकमा वन तथा वातावरण मन्त्री प्रदीप यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, जसपाका केन्द्रीय सदस्य बालकिशोर यादव, वीरगन्जका मेयर राजेशमान सिंह, जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद , वीरगन्ज महानगर कमिटिका अध्यक्ष इश्वरचन्द्र यादव, नेकपा एमालेका केन्द्रीय सदस्यहरु प्रभु हजरा र निर्मला देवकोटा, जिल्ला अध्यक्ष जयप्रकाश थारु, सचिव मनोज गुप्ता, नेताहरु विचारी यादव, प्रधुमन चौहान र योगेन्द्र प्रसाद कुर्मीको सहभागीता थियो ।

Related posts

पर्सा ३ (क) मा काँग्रेसका बागी मनाेज यादवकाे उम्मेदवारी फिर्ता

बारामा एकीकृत समाजवादीका दुई प्रदेशसभा सदस्य एमालेमा फर्किए

गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध २८ असोज सम्म थप

Leave a Comment