Shere Parsa
धर्म/संस्कृति हेडलाइन

मधेसको दशैं पहाडको भन्दा फरक


मधेसखबर
वीरगञ्ज , १८ असोज : मधेसी समुदायमा दशहरा र पहाडी समुदायमा दशैँ मनाउने शैलीमा केही कुरा फरक छन् भने केही कुरा समान पनि रहेका छन्।

नेपाल बहुजाती, बहुभाषी तथा बहुसंस्कृती भएका नागरीकहरु भएको देश भएकोले विभिन्न चाडवाड, केहि मिल्दा तथा केहि फरक शैलीमा मनाउने गरीएको छ ।

त्यस्तै मधेसको समुदायमा दशहरा र पहाडी समुदायमा दशै मनाउने शैली पनि फरक फरक हुने गरेको छ । मधेसमा बडादशैंलाई खासगरी दुर्गा पूजा वा दशहरा भनिने गरीएको छ ।

अहिले पहिलेको भन्दा मनाउने प्रवृतीमा आर्थिक तथा राजनीतिक प्रभाव देखीएपनि अझ पनि खासगरी ग्रामीण भेगका  महिलाहरु घटस्थापनाको दिन बिहानै घर तथा आँगन गोबरले लिप्ने गरेका छन् भने शहर बजारका महिलाहरु घरहरु सफा गरी चिटिक्क पारेर घटस्थापनाको तैयारीमा लाग्ने गरेका छन् ।

तराई मधेसमा अझ पनि दशहराको तयारी करीब एक महिना अगावै देखी हुन थाल्दछ ।

दशहरा सुरु हुनुभन्दा एक दिन अगावै मध्यरातमा खासगरी घरका बच्चाहरूलाई दुष्ट प्रवृतीका प्रभावबाट जोगाउने भन्दै नाइटोमा कालो टीका लगाइदिने, घाँटीमा लसुन झुन्ड्याइदिने, आँखामा गाजल लगाइदिने र टोल–छिमेकमा हिंडडुल नगर्न सुझाव दिइने प्रचलन पहिलेको तुलनामा कम भएपनि अझ तराई मधेसको समुदायमा रहेको पाईन्छ ।

त्यस्तै दशहरा सुरु भएको दिन घटस्थापना देखी दश दिनसम्म विशेष रुपमा झिझिया नाच नाच्ने चलन पनि रहेको छ ।

यो झिझिया घटस्थापनादेखि दशमीसम्म देखाइने लोक नृत्य रहेको सस्ंकृतीविद बताउँछन् ।


मधेसमा दशहराको अवसरमा खासगरी ग्रामीण भेगमा कतिपय स्थामा ग्राम देवता देव स्थानको सामूहिक पूजा गर्ने परम्परा रही आएको छ  भने नजिकका शतिmपिठ , देव स्थानमा तथा गाउँका मन्दिरहरूमा सामुहिक रुपमा जमरा राख्ने चलन पनि रहेको छ ।

दशैभरी ग्राम देवताको सामूहिक पूजा गर्ने तथा महाबीरी झण्डाको उत्सव र रामलीलाको मञ्चन पनि पहिलेको भन्दा कम भएपनि अझ पनि केही स्थानमा हुने गरेको देखीन्छ ।

त्यसैगरी ठाउँ ठाउँमा पण्डाल राखी माटोको प्रतिमा बनाएर देवी पूजा गर्ने तथा मन्दिरमा जस्तै ती पण्डालमा पनि दर्शन गर्न जाने गरेका छन् ।
भाकल गरेकाहरुले विभिन्न जनावरको बलि समेत दिने गरेका छन् । त्यसैगरी शाकाहारीहरुले भने कुभिन्डो लगायतका तरकारी प्रसादको रुपमा चढाउने गरेका छन् ।

 

मधेसको दशहरा कसरी मनाईन्छ त ?

कलश यात्रा
दसैं अर्थात दशहराको पहिलो दिन घटस्थापनाको अवसरमा मधेसका प्राय हरेक स्थानबाट कलश यात्रा निकालिन्छ । कलश यात्रामा विशेष रुपमा कन्या कुमारी लगायत गाउँघरका महिलाहरु समेत जलाशयबाट घैंटामा जल भरेर, घैंटामा आँपको पल्लो, नारिवल ,रातो कपडा बेरेको घैंटो टाउकोमा राखेर, देवी दुर्गाको मन्दिरमा कलश स्थापना गर्ने गरेका छन् ।

प्रत्येक वर्ष दशैमा देवीका शक्तिपिठहरुलाई बेलुली झैं सिगाँरिएको हुन्छ ।
घटस्थापनाको दिनलाई  मधेसमा ‘कलस्थापन’ पनि भनिन्छ ।

घटस्थापना गर्नुअघि कलश यात्रा निकाल्ने परम्परा समेत रहेको छ । यो विधिसँगै दुर्गा पूजाको आरम्भ हुने गर्छ ।

झिझिया नृत्य
मधेसमा दसैँ अर्थात दशहरा शुरु भएसँगै झिझिया नृत्य पनि शुरु हुन्छ । दसैँको अन्तिम दिन अर्थात् पूर्णिमाको दिन यो नृत्य समाप्त हुने गर्छ । पूर्णिमाको दिन झिझियाको विशेष पूजा हुन्छ । र, पानीमा बिसर्जन गरेर त्यसलाई समापन गर्ने चलन छ ।

घैटोमा धेरै प्वाल पारेर त्यसमा दियो राखी टाउकोमा राखेर महिलाहरुले दैनिक जसो नृत्य गर्ने गरेका छन् । त्यो नृत्य गर्ने महिलाहरु खासगरी आसुरी शतिmलाई गालि गर्ने, विरोध गर्ने गर्दछन् ।

तराईका देवी मन्दिरको परीसरमा खासगरी दलित भनिने समुदायका महिलाहरू मन्दिरको परिक्रममा गर्दै नवरात्रिमा खासगरी भाकल गरेका महिलाहरूले भगवतिलाई खुसी पार्न आफूले लगाएको साडीको आँचलले मन्दिर परिक्रमा गरि बढार्ने दृष्य पनि मन्दिर परिसरमा देखीन्छ ।

खोईच भर्ने चलन

विशेषगरी दुर्गा भगवतीको पूजा आराधना हुने यस पर्वमा विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो लाग्छ । अरु दिन भन्दा फुलपातीको दिन तराईका महिलाहरुका लागि खास हुने गरेको उनीहरु बताउँछन् । आश्विन शुक्ल सप्तमी शक्तिपीठमा फूलपाती भित्र्याइन्छ ।

दशहराको सातौ दिन फुपातीको दिन नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर मन्दिरमा गएर पुजा गरीन्छ ।

दसैँको पहिलो दिन जस्तै सप्तमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार मधेसमा फूलपातीकै दिन दुर्गा भवानीलाई खोईच भर्ने परम्पराको पनि आफ्नै विशिष्ट महत्व रहेको संस्कृतीविदको भनाई छ ।

फुलपाती भित्र्याईसकेपछि विहान देखी अबेर राती सम्म तराईका जिल्लाका मन्दिरहरुमा तराईका मात्र नभई भारतका विभिन्न ठाउँबाट पनि आउने भतmालुहरुको खोईच भर्नका लागि घुईचो लाग्ने गर्दछ ।

मधेसी समुदायका महिलाहरुले भरन गर्ने खोईच देवी दुर्गाको मुख्य चढावन हो भनी मन्दिरका पुजारीको भनाई छ ।

दुर्गा मातालाई प्रसन्न गर्र्ने राम्रो उपाय सप्तमीको दिन शुद्ध शाकाहारी खोईच भरन नै हो भन्ने भतmहरुको विश्वास रही आएको छ । खोईचको परापुर्वककाल देखी नै विशेष महत्व रहेको संस्कृतविद उमाशंकर दिवेदीले बताए ।


सप्तमीको दिन खईच भर्ने परम्परा महिलाहरुको लागि अति नै विशेष हुने गरेको ब्रतालु महिलाहरु बताउँछन् । अरु दिन उपवास नबसेकी महिलाहरु पनि त्यस दिन उपवास बसी देवीलाई खोईच भरीसकेपछि मात्रै केही खाने गरेको उनीहरु बताउँछन् ।

देवीलाई खोईच भरेपछि सबै मनोकामना पुरा हुने , देवीको दरवारबाट कोही खाली हात फर्किन नपर्ने विश्वास भतmजनहरुको रही आएको छ । खोईच भर्ने दिन विभिन्न मिष्ठान्न र सामाग्री देवीलाई अर्पण गर्ने चलन रहेको बीरगंज श्रीपुर निवासी भाग्यमनी देवीले बताउछिन् ।

नेटुवा नाँच

मधेसको दशहरा मेलामा हुने गरेको नेटुवा नाँचको खास गरी मधेसी समुदायमा धेरै महत्व रहेको छ ।

नेटुवा नाँच देखाउने तल्लो जातिको भनिने मानिसहरुबाट महिलाले आफनो साडीको आँचल र अविवाहीत महिलाले आफनो डुपट्टामा नाँच गराउँदा विभिन्न समस्या समाधान हुने , चिताएको पुरा हुने ,घरपरिवार खुसीको खबर सुन्न पाउने, रोगव्याधीबाट मुक्ति पाउने धार्मिक मान्यता तथा आस्था रहीआएको महिलाहरु बताउँछन् ।

टीका र जमरा

मधेसी समुदायमा टीका तथा जमरा लगाउने कार्य मन्दिरमा राखिएको जमराबाट पुजारीले भक्तजनलाई आशीर्वाको रुपमा लगाइने चलन रहेपनि हाल तराई मधेसमा पनि पहाडी समुदायमा जस्तै घरमै परिवारका सदस्यले अन्य सदस्यलाई टीका जमरा लगाईदिने प्रचलन बढेको पाईन्छ ।

यता मधेसी समुदायका महिलाहरुले जस्तै पहाडी समुदायका महिलाहरुले पनि खोईच भरन गर्ने कार्य गर्दै आएका छन् ।

पण्डालमा दुर्गा भगवानको प्रतीमा

माटोको दुर्गा भगवानको मूर्ति दसैँको अवधिमा विभिन्न ठाउँमा पण्डाल बनाई स्थापना गरिएको हुन्छ ।

पण्डाल सहित दुर्गा भगवतीको आकर्षक मूर्तिलाई भव्य रुपमा लाखौंँ खर्च गरी सजाईन्छ । दसैँ आउनुभन्दा केही महिना अघिदेखी नै माटोको मूर्ति बनाउने कालिगढलाई भ्याइ–नभ्याइ हुने गर्दछ ।

पण्डालमा दैनिक रुपमा भतmजनहरु दर्शन गर्न पुग्ने गरेका छन् र भजन किर्तनमा सामेल हुने गरेका छन् ।

हाल होडबाजीका कारण केही स्थानहरुमा छोटो छोटो दुरीमा समेत लाखौँ खचै गरी पण्डाल निर्माण गरीएको पाईन्छ ।

मधेसमा विशेष मेला

दसैँमा मधेसका विभिन्न धार्मिक स्थल तथा शक्तिपिठहरुमा ठुलो मेला लाग्ने गरेको छ । लाग्ने त्यस्ता मेलालाई मौलिक परम्पराको रुपमा लिइने गरीएको संस्कृतिविद् बताउँछन् ।

मेलामा सबै उमेर समुहका मानिसहरुले मनोरञ्जनको रुपमा पनि लिने गरेका छन् । मेलामा नाचगान तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका समेत आयोजना गरीएको हुन्छ ।

बालबालिकाहरुलाई खेल्नका लागि विभिन्न मनोरञ्जनामत्क खेलका सामग्रीहरु, खेलौना लगायत पनि राखिएका हुन्छन् ।अरु दिनको तुलनामा सप्तमीको दिन र दशमीको दिन नेपाल लगायत भारतीय सिमावर्तीका विभिन्न स्थानबाट पनि मानिसहरु मेला घुम्न आउने गरेका छन् ।

मेलामा विभिन्न खेल तमाशाको आयोजना गरीएको हुन्छ । दशैको अवसरमा हरेक वर्ष तराई मधेशका विभिन्न स्थानमा कुश्ति प्रतीयोगिता पनि आयोजना हुने गरेको छ ।

जसमा नेपाल लगायत भारतका कुश्ति खेलाडीहरु सहभागी हुने गरेका छन् । जसलाई दंगल भन्ने गरीएको छ ।


जात्रा

दुर्गा भगवतीलाई स्थापित गर्न पहिलो जसरी घटस्थापनामा कलश यात्रा निकालि जस्तै बिर्सजन गर्ने दिन दशमीको दिन पनि विशेष जात्रा निकालेर माटोको बनाईएका देवीको मुर्ती नदिमा लगेर विसर्जन गर्ने गर्छन् ।

हरेक दिन विशेष पूजा आराधना

दसैँको पहिलो दिन अर्थात् घटस्थापनाको दिन कलश पूजा गरी जलाशयबाट कलशमा जल भरेर मन्दिरमा सामुहिक रुपमा महिलाहरुले ल्याएपछि देवीसंगै कलशको पनि हरेक दिन पुजा हुने गर्छ ।

तर घटस्थापनाको दिनदेखि मूर्ति स्थापना गरिए पनि मूर्तिको आँखा भने छोपेर राखिएको हुन्छ तर सप्तमीको दिनमा मूर्तिको आँखा खोलिने चलन रहेको छ ।

दुर्गा भगवतीको आँखा खालेको भोलि पल्टदेखी देवीलाई बलि दिने चलन रहेको छ । भक्तजनहरुले भाकल गरे अनुसार खसी, बोका, राँगा, परेवा, हाँस तथा शाकाहारी बलि दिइन्छ ।


नवमी अर्थात् नवौं दिन दुर्गा भगवतीको पूजापाठ तथा आरती हुन्छ । विजया दशमी अर्थात् अन्तिम दिन दुर्गा भगतवतीका साथै सबै देवीदेवताको बिसर्जन पूजा गर्ने चलन रहेको छ ।

 

त्यो दिन दुर्गा भवगतीलाई बिदाई गरिन्छ तथा त्यस दिन शुभ मानिने हुँदा चेलीबेटी भित्र्याउने र पठाउने तथा कतै जान आउने कार्यका लागि शुभ शुभारम्भ गरीने चलन रहेको महिलाहरु बताउँछन् ।

मधेसमा भाकल गरेकाहरु भने नवरात्रीको ९ दिनसम्म व्रत गर्ने परम्परा समेत रहेको छ । व्रत गर्नेहरूले दुर्गा पूजाको नवौँ दिन कुमारी कन्यालाई पूजा गरेर भोजन गराउने परम्परा रहेको छ । जसलाई ‘कुमारी भोजन’ भनिन्छ ।


त्यसै गरी विजय दशमीको अन्तिम दिन जमरासँगै टिका लगाउने र ठुलाबडाको आशीर्वाद लिने प्रचलन पनि पछिल्लो समय उत्तिकै बढेको छ । असोज शुक्ल प्रतिपदाबाट सुरु हुने दुर्गा पूजा असोज शुक्ल दशमीका दिन विजय दशमी पर्व मनाउँदै विधिवत् रूपमा समापन हुन्छ ।

दशमीको दिन माछामासु लगायत खानेकुराहरु खान मिल्ने भएको र देवीको आँखा पनि खोलिने भएकोले मानिसहरु अबेर रातीसम्म विभिन्न स्थानका पण्डालहरुमा गई देवी दर्शन सहित परिवारका सदस्य , साथीभाईका साथमा घुम्ने समेत गरेका छन् ।

Related posts

बीमा रकम नपाएपछि बाराका किसानहरु आन्दोलित

जसपा–एमाले गठबन्धनलाई मत दिन अपिल गर्दै पर्सा १ मा प्रदीप र विचारीको रोड शो

विचौलियाको अन्त्य गर्दै कृषकको उत्पादन सोझै उपभोक्ताको भान्सासम्म पुर्याउने योजना ल्याउँछु: प्रदीप यादव

Leave a Comment