Shere Parsa
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा दसैं मेला : जाने हैन त जलेबी खान ?

क्रान्ति शाह
वीरगन्ज,१६ असोज :जलेबी (जुलेबी) तराई मधेसमा रुचाइएको मिठाइ हो। अरु मिठाइभन्दा यो सस्तो पनि हुन्छ।मधेसमा विभिन्न पर्व र अवसरमा लाग्ने मेलामा जलेबी पाकेकै हुन्छ। मेला जाने जोकोही थोरै भएपनि जलेबी किनेर खान्छन्। अनि घर फर्किँदा कोशेलीका रुपमा जलेबी लिएर जान्छन् ।

वीरगन्जमा यसपाली पनि लागेको दसैं मेलामा जलेबी मुख्य आकर्षण बनेको छ । दसैंको अवसरमा वीरगन्जमा हरेक वर्ष लाग्ने मेलामा सडकका फुटपाथ र छेउछाउमा जलेबीका दर्जनौं पसल प्रशस्त भेटिन्छन्।

यसपाली पनि दसैं मेला लागेको वीरगन्जको घण्टाघर चोकदेखि माइस्थान चोक, महवीर स्थान, अलखीया मठहुँदै वीर्ता चोकसम्म र माइस्थान चोकदेखि गीता मन्दिरसम्मको सडक छेउछाउमा जलेबीका झण्डै डेढ सयभन्दा बढी पसल छन् ।

मेला हेर्न आउने हरेकले जलेबी किनेर घर लैजाने गरेको पर्साको विन्दवासीनीका हरिहर राउतले बताए।’मेला आएकाले जलेबी नकिन्ने कोही हुँदैनन्, उनले भने, ’मेलाको मिठाई भने कै जलेबी हो, घरमा बालिबालिकादेखि वृद्धवृद्धा सबैले जलेवी मन पराउँछन्। यो अरु मिठाइजस्तो महंगो पनि हुँदैन। जलेबी मधेसको पहिचान दिने मिठाइ हो ।’

हरेक वर्ष लाग्ने मेलामा जलेबी बिक्री गर्न अधिकांश व्यापारी सीमावर्ती भारतीय गाउँबाट आउने गरेका छन् । पर्सा , बारा र रौतहटको ग्रामीण भेगबाट पनि मेलामा जलेबीको पसल थाप्न व्यापारी वीरगन्ज आउने गरेका छन् ।

वीरगन्जमा लागेको दसैं मेलामा जलेबीको बिक्री बढेको व्यापरीले बताए। दसैं मेलामा विगत ५ वर्षदेखि वीरगन्जमा जलेबीको पसल थाप्दै आएका भारत बिहारको छौडादानेका राजु कानुले पोहोरको भन्दा यसपाली मेलामा जलेबीको बिक्री बढेको बताए ।

’पोहोर पनि राम्रै व्यापार भएको थियो, एक हप्ताको मेलामा ४० हजार मुनाफा भएको थियो, उनले भने, ’यसपालीको मेलामा मेरै टोलबाट ५ जनाले पसल थापेका छन्।’ वीरगंजको दसैं मेलामा १५/१६ वर्षदेखि जलेबी मिठाई बिक्री गर्दै आएका बिहारकै भरवलीया गाउँका विक्रम प्रसादले पनि यसपाली जलेबीको बिक्री राम्रै भइरहेको बताए ।

वीरगन्जको मेलामा अहिले जलेबी मिठाइको भाउ प्रति केजी १ सय ६० रुपैयाँ रहेको उनले बताए।उनले भने,’दिनको १० देखि १२ हजार जतिको बेच्छु,’ उनले भने, ’५/६ दिनमा ३०/३५ हजार रुपैयाँ नाफा हुन्छ।’

दसैंको बेला वीरगन्जमा लाग्ने मेला अघिदेखि नै मिठाइको व्यापार गर्न आउन बताउने भारतको नकटुवा निवासी छेदी साहले यसपाली मेला लागेको ३ दिनमै आफूले करिब २५ हजार रुपैयाँ जतिको जलेबी बिक्री गरेको बताए।

भोजपुरी संस्कृतिविद् उमाशंकर द्धिवेदी भन्छन्,’ जलेबी मधेसको मेलाको मुख्य आकर्षणसँगै पहिचान पनि हो। मधेसमा लाग्ने हरेक मेला र हाट बजारमा जलेबीका पसल भेटिन्छन्।मेला घुम्न आउनेले कोशेलीका रुपमा जलेबी लिएर घर फर्किन्छन्।’

Related posts

वन तथा वातावरणको क्षेत्रमा नमुना काम गरेर देखाउछु : मन्त्री यादव

पर्सा १ लोसपालाइ , लक्ष्मणलाल कर्ण गठबन्धनको साझा उम्मेदवार

पर्सा १ र २ को मतगणना शुरु

Leave a Comment