मधेसखबर
वीरगन्ज, ०१ भदौ : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा चुनावमा भाग नलिने भएको छ ।
अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देश मार्फत आफ्नो पार्टी प्रतिनिधिसभा चुनावमा मात्रै सहभागी हुने र प्रदेशसभा चुनावमा भने सहभागी नहुने जानकारी गराएका हुन ।
निर्वाचन आयोगले ४ मंसिरमा एकै पटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारी गरिरहेको छ ।
प्रदेश सभाको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी हुनु भएको तर्क लामिछानेको छ । तर, उनले आफूहरु व्यवस्था विरोधी नभएको जिकिर गरेका छन् । ‘यही संरचनामा हामी प्रदेश मातहतको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहानमा सहभागी हुनु बाहेक केही होइन,’ उनको तर्क छ, ‘हामी व्यवस्थाविरुद्ध छैनौं, मात्र प्रदेशसभाको चुनावमा सहभागी हुन चाहँदैनौं ।’
प्रदेशसभा, प्रदेश प्रमुख र प्रदेश अन्तर्गतका सबै मन्त्रालय खारेजीको माग गरेका लामिछानेको पार्टीले मुख्यमन्त्री भने प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क गरेको छ । प्रदेश मुख्यमन्त्री र फरक लिंगको एक उपमुख्यमन्त्री हुने र प्रत्यक्ष निर्वाचिन मुख्यमन्त्रीहरुले नै जिल्ला प्रमुख नियुक्त गर्नु पर्ने लामिछानेको भनाइ छ ।
मुख्यमन्त्रीले सोझै राष्ट्रपतिसँग सपथ लिने व्यवस्था हुनुपर्नेमा जोड दिएका लामिछानेले पालिका सभाका सदस्यबाट प्रदेश परिषद गठन गर्ने धारणा राखेका छन् । प्रदेश परिषदमा पालिका प्रमुख र उपप्रमुख मात्रै रहने छन् । प्रदेश परिषदले नै प्रदेशसभाको काम गर्ने छ । प्रदेश परिषदको बैठक वर्षमा २ पटक मात्रै बस्ने उनको प्रस्ताव छ ।