मधेसखबर
वीरगन्ज , १९ साउन : धानबालीका लागि लक्षित गरि नेपाल सरकारले ओमानबाट खरिद गरेको युरिया मल रोपाइ सकिसकेपछि मात्र नेपाल भित्रिन शुरु भएको छ ।
नेपाल सरकारले ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल मध्ये पहिलो खेपमा २५ सय मेटन अर्थात ५० हजार बोरा मल बिहीबार वीरगन्ज आइ पुगेको हो ।कोलकत्ता बन्दरगाहबाट २५ सय टन मल बोकेर हिडेको रेल बिहीबार दिउसो वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) मा आइ पुगेको वीरगन्ज स्थित कृषि सामाग्री कम्पनि लिमिटेडको प्रादेशीक कार्यालय प्रमुख चन्द्र चौलागाँइले जानकारी दिए ।
नेपाल सरकारले ग्लोबल टेण्डर मार्फत ओमानबाट खरिद गरेको ३० हजार मेटन युरिया मल आपुर्तिको जिम्मा स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले लिएको छ ।
चौलागाइका अनुसार , कोलकत्ता बन्दरगाहबाटै थप २५ सय मेटन युरिया मल बोकेर हिडेको अर्को रेल भारतकै बाटोमा रहेको र अबको तीन चार दिन भित्रमा उक्त रेल पनि ड्राइपोर्टमा आइ पुग्नेछ ।ओमानबाट खरिद गरिएको कूल ३० हजार मेटन युरिया मध्ये २२ हजार ५ सय मेटन मल वीरगन्जकै ड्राइपोर्ट नाका हुदै भित्रिनेछ भने बाँकी ७ हजार ५ सय मेटन मल विराटनगर नाका हुदै आउने चौलागाँइले जानकारी दिए ।
खरिद गरिएको सबै ३० हजार मेटन युरिया मल , ९ खेपमा गरेर नेपाल भित्रिने उनले बताए । उनले भने ,‘ अहिले फस्ट लटमा २५ सय मेटन आएको हो , सबै मल आइ पुग्न अबको १२ देखि १५ दिन लाग्छ ।
बिहीबार वीरगन्जको सिर्सिया ड्राइपोर्टमा आइ पुगेको २५ सय मेटन ( ५० हजार बोरा) युरिया मल , एक साता पछि मात्रै सम्बन्धित जिल्लाहरुमा वितरणका लागि पठाइने चौलागाँइले जानकारी दिए । त्यसपछि मात्रै किसानहरुले मल पाउने उनले बताए ।
उनले भने ,‘ बिहीबार आएको मलको नमूना गुणस्तर परिक्षणका लागि बिहीबार नै काठमाण्डौको प्रयोगशालामा पठाएका छौ , त्यसको रिपोर्ट आउन कम्तिमा चार दिन लाग्छ , त्यसपपछि ड्राइपोर्टबाट मलको भन्सार जाँचपास हुन्छ , त्यसपछि ड्राइपोर्टबाट ट्रकमा ओसार कम्पनिको गोदाममा ल्याउछौ , अनि बिक्रीवितरणका लागि सम्बन्धित जिल्लाहरुमा परिचालन हुन्छ , यो सब गर्दा कम्तिमा पनि अझ एक हप्ता लाग्न सक्छ ।
वीरगन्ज स्थित कृषि सामाग्री कम्पनि लिमिटेडको प्रादेशीक कार्यालयले मधेस प्रदेश सहित काठमाण्डौ ,काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहु, पर्बत, नुवाकोट , कास्की लगायत १६ जिल्लामा रासायनिक मलको आपुर्ति गर्दै आएको छ ।
कार्यालय प्रमुख चौैलागाँइका अनुसार , ओमानबाट अहिले खरिद गरि आयात भइरहेको ३० हजार मेटन युरिया मल मध्ये मधेस प्रदेशमा ८ हजार ५ सय मेटन वितरण गरिने छ । पर्साका लागि भने ८ सय ५० मेटन (१७ हजार बोरा ) र बाराका लागि १ हजार मेटन ( २० हजार बोरा ) युरिया वितरण गरिने चौलागाँइले जानकारी दिए ।
चौलागाँइका अनुसार , वीरगन्ज स्थित कम्पनिको गोदाममा अहिले युरिया मलको मौज्दात शुन्य रहेको छ । यस्तै डिएपी मल भने ८ सय ३१ मेटन र पोटास मल १ हजार ५ सय ९७ मेटन मौज्दात रहेको चौलागाँइले जानकारी दिए ।