Shere Parsa
राष्ट्रिय हेडलाइन

पर्सा ३ को गणनामा २७२ मतपत्र नभेटिएको खुलाशा : के अब नतीजा उल्टिन्छ त ?

मधेसखबर
वीरगन्ज , ०९ मंसिर : पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित भइसकेको भएपनि उनलाइ निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र अझै सम्म दिएको छैन ।मतगणना सम्पन्न भइ अन्तिम नतिजा आएको ४८ घण्टा बित्न लाग्दा समेत पर्सा ३ को निर्वाचन अधिकृतको कार्यालयले गुप्तालाई निर्वाचित भएको प्रमाणपत्र नदिएको हो ।

 

निकटतम प्रतिस्पर्धी काँग्रेसका सुरेन्द्र प्रसाद चौधरीलाई १ सय ५१ मत मात्रैको झिनो अन्तरले पराजित गरेको भनिएका गुप्ताले निर्वाचित भएको ४८ घण्टा बित्दा पनि निर्वाचन अधिकृतको कार्यालयबाट अहिले सम्म प्रमाणपत्र नपाउदा अनेक आशंकाहरु उब्जिएको छ ।यसका साथै काँग्रेसका उम्मेदवार चौधरीले पनि मतगणनामा गडबड गरिएकोले रिकाउन्टिङ (पुन गणना ) गर्नु पर्ने माग गर्दै निवेदन दिएकाले यसले पर्सा ३ को विजेता को हुने भन्ने प्रश्न उठेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले पनि पर्सा ३ मा गुप्ता निर्वाचित भएको भनेर आधिरीक घोषणा पनि अहिले सम्म गरेको छैन । यद्यपि निर्वाचन आयोगको वेभ साइटमा भने गुप्ता २४ हजार २६० .मतका साथ निर्वाचित भएको उल्लेख छ । वेभसाइटमै चौधरीले भने गुप्ता भन्दा १५१ मत मात्रै कम अर्थात २४ हजार १०९ मत पाएको उल्लेख गरिएको छ ।

आइतबार मतदानका दिन पर्सा ३ मा प्रतिनिधीसभा सदस्यको प्रत्यक्ष तर्फ कूल ६४ हजार ४४८ मत खसेको थियो । मतगणनाका क्रममा भने मतपेटिकाबाट ६४ हजार १७६ मतपत्र मात्रै गनिएको थियो । यो दुवै संख्या जोड घटाउ गर्दा २७२ मत कम भएको देखिन्छ ।

मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसार पर्सा ३ को प्रतिनिधीसभा सदस्यमा प्रत्यक्ष तर्फ ६४ हजार ४ सय ४८ मत खसेको तर मतगणनाका क्रममा मतपेटिकाहरुबाट ६४ हजार १७६ मतपत्र मात्रै भेटिएको पर्सा ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले बताए ।

उनका अनुसार , प्रत्यक्ष तर्फ मतदान केन्द्रबाट उठाइएको मुचुल्काको भन्दा गणनाका क्रममा कूल सदर मत र कूल बदर मत भन्दा २७२ मत कम भएको देखिन्छ । ढकालका अनुसार , गणनाका क्रममा मतपेटिकाबाट निकालेर गनिएको कूल मत ६४ हजार १७६ छ भने त्यसमा सदर मत ६१ हजार ५ सय ४५ र बदर मत २ हजार ६३१ छ ।

कूल सदर र बदर मतको योगफल जोड्दा आउने संख्या , मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसारको मतसंख्या ६४ हजार ४४८ भन्दा २७२ ले कम देखिएको निर्वाचन अधिकृत ढकाल पनि स्वीकार्छन् ।

उनले मतदानका क्रममा केहि मतदाताले प्रत्यक्ष तर्फको मतपत्र , भूलवस समानुपातिक तर्फको मतपेटिकामा पनि खसाएको हुन सक्ने भएकाले प्रतिनिधीसभा सदस्यमा प्रत्यक्ष तर्फ निर्वाचित हुने उम्मेदवारको आधिकारीक घोषणा नगरिएको र प्रमाणपत्र पनि वितरण नगरिएको बताए ।

ढकालले भने ,‘ अहिले समानुपातिक तर्फको मतगणना भइरहेको छ , शनिबार दिउँसो सम्म सकिन्छ होला , समानुपातिककोे गणना सकेर प्रत्यक्षतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आधिकारीक रुपमा घोषणा गर्नुका साथै प्रमाणपत्र पनि वितरण गर्छौ ।
ढकालले भने,‘ अहिले भइरहेको समानुपातिकको मतगणनाका क्रममा समानुपातिकको मतपेटिकाबाट प्रत्यक्ष तर्फका पनि मतपत्र छिट्फुट भेटिइरहेका छन् , यसरी भेटिएका मतपत्र , प्रत्यक्ष तर्फमा जोडिन्छ , अनि मात्रै आधिकारीक घोषणा हुन्छ ।

यता पराजित भनिएका काँग्रेसका उम्मेदवार चौधरीले भने मतगणनाकै क्रममा गडबड गरिएको आरोप लगाए । उनले भने ,‘ १५१ मतले म हारेको भनिएको छ , तर गणनामा २७२ मत नै कम छ , त्यो २७२ मत आखिर कहाँ गायब भयो ? अर्को कुरा गणनामा पढे नलेखेका निरक्षर गणकहरुलाइ पनि खटाइएको थियो , गणनामा नै षडयन्त्र गरिएको छ । त्यसैकारण रि–काउन्टिङका लागि आफुले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पनि दिइसकेको चौधरीले बताए ।

नेपाली काँग्रेसका स्थानीय नेता एंव पोखरीया नगरपालिकाका पुर्व मेयर दिपनारायण रौनीयारले पनि प्रत्यक्ष तर्फको मतपत्र केहि मतदाताले भूलवस , समानुपातिक तर्फको मतपेटिकामा खसाएको जिकिर गरे । उनले गणनाका क्रममा प्रतिनिधीसभाको समानुपातिक तर्फको मतपेटिकाबाट प्रत्यक्ष तर्फको ७४ वटा मतपत्र भेटिएको बताए ।

रौनीयारले भने ,‘ प्रत्यक्ष तर्फको मतपेटिकाबाट सामानुपातिकको मतपत्र पनि भेटिएको थियो, यस्तै प्रातिनिधीसभा सदस्य प्रत्यक्ष तर्फको मतपत्र , प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फको मतपेटिका पनि भेटिएको थियो , त्यसका कारण समानुपातिकको पनि मतगणना नसकिए सम्म प्रत्यक्षमा को जित्छ ? को हार्छ भन्न सकिन्न । हामी त्यसैको प्रतिक्षामा छौ ।

गुप्ता भन्छन् : म निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतले नै गरेका हुन् , भ्रममा नपर्नु होला

गुप्ताले भने बुधबार राति मतगणना सकिए लगत्तै निर्वाचन अधिकृत ढकालले नै माइकबाट आफु निर्वाचित भएको सार्वजनिक रुपमै घोषणा गरेको दाबी गरे ।

यसका साथै सबै उम्मेदवारले पाएको मत सहितको अन्तिम विवरण लेखेर त्यसमा निर्वाचन अधिकृतको कार्यालयकै छाप लगाउनुका साथै हस्ताक्षर गरेर ह्वाट््समा पठाएको र त्यो प्रमाण आफुसंग सुरक्षित रहेको गुप्ताले बताए ।

गुप्ताले भने ,‘ जनताको बहुतमले जितिसक्दा पनि पनि सत्ताको दुरुपोग गरेर मलाइ हराउने षडयन्त्र चारै तिरबाट भइरहेको छ । उनले यस बारेमा आफुले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकलाइ फोन गरेर कुरा गरेको पनि जानकारी दिए ।उनले प्रत्यक्ष तर्फको मतपत्र , समानुपातिकको मतपेटिकामा भेटिए पनि त्यो मत सदर नहुने भएकाले भ्रममा नपर्न सबैसंग अपिल पनि गरे ।

Related posts

बारा ४ का सांसद मियाँ लाेसपा छाडेर एमाले प्रवेश

सिट भागबन्डामा पर्सा बारे कुनै सहमति भएको छैन : काँग्रेस सभापति क्षेत्री

मतपेटिका खाेस्न खाेज्दा गाेली चल्याे , एककाे मृत्यु

Leave a Comment