Shere Parsa
पर्यटन हेडलाइन

वनमन्त्री यादवकाे घाेषणा पूरा हुँदै : वीरगन्जमा चिडियाखाना निर्माणका लागि सरकारले दियाे अनुमति

मधेसखबर
वीरगन्ज ,२८ भदाैं : वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ मा सदर चिडियाखाना निर्माण हुने भएको छ ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगन्जमा सदर चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेकाेमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त  चिडियाखाना निर्माणका लागि अनुमति दिएको हो ।

उक्त चिडियाखाना एक अर्ब एक करोड सात लाख रुपैयाकाे लागतमा निर्माण गरिने वन मन्त्रालयले जनाएको छ ।

चिडियाखाना निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा आठ सदस्यीय कार्यदल समिति गठन भईसकेकाेछ । उक्त कार्यदल समितिले आफ्नो प्रतिवेदन समेत मन्त्रालयमा पेश गरिसकेको छ ।

वीरगन्ज महानगरपालिकाको ग्रामिण भेगमा पर्ने सोलखपुर रामवनमा प्राकृतिक चिडियाखाना स्थापना गरिए यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने भन्दै चिडियाखाना निर्माणका लागि उपयुक्त स्थान भएको कार्यदलकाे प्रतिवेदनमा उल्लेख छ ।

प्रस्तावित चिडियाखानाको क्षेत्रभित्र पर्ने ३.१ हेक्टर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएका सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरेर मात्र स्थापना गर्नुपर्ने, प्रस्तावित चिडियाखाना स्थापना गर्दा प्राकृतिक चिडियाखानाका साथै वन्यजन्तु उद्धार केन्द्र वन्यजन्तु प्रजनन केन्द्र निर्माण गरिने, वन्यजन्तुका लागि आवश्यक पूर्वाधार तथा उचित रोकथाम, पर्यटक व्यवस्थापनमा ध्यान दिनुपर्ने एवं जैविक विविधता शिक्षा प्रवद्र्धन तथा वन्यजन्तुको कल्याणसमेतलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार चिडियाखाना स्थापना र सञ्चालनका लागि मानवीय, प्राविधिक तथा आर्थिक स्रोतको सुनिश्चित हुने गरी प्रस्तावित चिडियाखाना स्थापना र सञ्चालन गर्नुपर्ने उक्त अध्ययन प्रतिवेदनको राय रहेको छ ।

प्रस्तावित चिडियाखाना स्थापनाको लागि वीरगञ्ज महानगरपालिकाको वडा नंबर ३२ को रामवन क्षेत्रमा पर्ने सवैया साझेदारी वन उपभोक्ता समूहले समेत आफ्नो साझेदारी वन क्षेत्रमा प्रस्तावित चिडियाखाना स्थापनाका लागि सहमति दिएको छ । सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको जसमा घास बुट्यान क्षेत्रले ३९.४ हेटटर, सघन क्षेत्रले ७.५ र अतिक्रमण क्षेत्रले ३.१ हेक्टर ओगटेको छ ।

चिडियाखानाका लागि प्रस्तावित वन क्षेत्रमा चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुट्के बँदेल, सुँगा, मैना, गरुड र सारस पनि पाइने र उक्त क्षेत्रमा घस्रने जनावरमा कोब्रा, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि रहने गरेकाले यहाँ चिडियाखाना बनाउन उपयुक्त रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले बताए।

वीरगन्जमा चिडियाखाना निर्माण गर्ने आफ्नो वर्षौं पहिलेदेखिको सपना रहेको र अहिले आएर उक्त सपना साकार भएको मन्त्री यादवले सनमाजिक सन्जाल मार्फत प्रतिकृया दिएका छन् । उनले भनेका छन्, ‘पर्यटन प्रवद्र्धन तथा आर्थिक समृद्धिका लागि अगाडि बढिरहेको छु,गृहनगर वीरग्जमा निर्माण हुने चिडियाखानाले पर्यटन प्रवद्र्धन सहित यहाका नागरिकको आर्थिकस्तरमा वृद्धि गर्ने मैले अपेक्षा लिएको छु ।’

Related posts

वीरगन्जका निवर्तमान वडाध्यक्ष चाैरसियालाइ भ्रष्टाचार प्रकरणमा ३ महिना जेल

नेपालमा कोरोना महामारी: अबको एक महिना झन कठिन

प्रदीप यादवलाई जिताउन एमाले नेता कार्यकर्ता पनि एकजुट भएर लागे

Leave a Comment