Shere Parsa
स्थानिय हेडलाइन

असारे बजेटको कमाल : वीरगन्जमा बनाइएको पुल दुई महिना नबित्दै भत्कियो

मधेसखबर
वीरगन्ज, २७ भदौं :मधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकामा आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम महिना असारमा बनाइएको पुल दुई महिना नपुग्दै भत्किएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा २५ लाख रुपैयाको लागतमा बनाइएको कल्भर्ट पुल दुई महिना पनि नबित्दै भत्किएको हो ।

गुणस्तरहीन सामग्री प्रयोग गरी बनाइएको पुल समान्य बाढी समेत थेग्न नसकि भत्किएको हो । अहिले पुलको तल राखिएका चारवटा ह्युम पाइप भत्किएर पुलको वास्तविक अवस्था उजागर भएको छ ।

गतको असार महिनाको अन्तिम साता बजेट सक्न उपभोक्ता समिति मार्फत हतार हतारम पुल निर्माण गरिएको थियो। पुल निर्माण गर्दा समितिले पुल माथिको ढलान नै नगर्दा पुलमा रहेका रडहरू देखिन थालेको थियो । ती रड माथि ढलान नहुँदा आम स्थानीबासीहरूले पुल निर्माणमा ब्याप्क भ्रष्टाचार भएको भन्दै असहमति जनाउँदै आएका थिए।

गुणस्तरहीन पुल निर्माण गरिएको भए पनि नेताहरूको दबाबका कारण पुलको निर्माण रकम भुक्तानी गरिएको थियो । उपभोक्ता समिति मार्फत् बनाइएको उक्त कल्भर्ट पुलको आधाभन्दा बढी भागमा ढलान नै भएको छैन।

ढलान पनि नभएका कारण पुलको माथिल्लोपट्टि राखिएको छडसमेत खुल्ला रूपमै राखेर छाडिएको थियो । जसका कारण समान्य बाढीले पुललाई भत्काइ दिएको हो । गुणस्तरहीन कल्भर्ट पुल निर्माण भएको भन्दै स्थानीयबासीहरूले पुल निर्माणको क्रममा चरम रूपमा आर्थिक अनियमितता गरी भ्रष्टाचार गरिएको भन्दै सोमा संलग्न उपभोक्ता समतिका पदाधिकारी, इन्जिनियरलगायतलाई कारबाही गर्नुपर्ने माग समेत गरेका छन्।

आफूले पहिलेदेखि नै पुल निर्माणमा अनियमितता भएको भन्दै आएको तथा अहिले पुल भत्केर अनियमिततालाई पुष्टिसमेत गरेको वडा नम्बर ३० का स्थानीय जमुना साहले बताए।

उनले पुल निर्माण गर्दा कतिसम्मको भ्रष्टाचार भएको भनि पुल हेरेर नै थाहा पाएको बताए। ‘मैले पहिलेदेखि भन्दै आएको थिए यसमा धेरै भ्रष्टाचार भएको छ, उपभोक्ता समितिले पैसा खाएको छ, उनले भने,‘तर पहिले कसैले यसमा ध्यान दिएन अहिले हेर्नुस पुल त भत्कियो नि ।’ बजेटको पैसा खेर फालेर यसरी गुणस्तरहीन काम गर्ने समितिका पदाधिकारीलाई कारबाही हुनुपर्ने साहको माग छ।

मधेस प्रदेशकी प्रदेश सांसद भीमा यादवको संसदीय विकास कोषको २५ लाख रुपैयाको लागतमा उक्त पुल निर्माण भएको हो।

उपभोक्ता समितिले पुल पुरै निर्माण गर्न नसक्दा २५ लाख मध्ये १४ लाख रुपैया मात्रै भुक्तानी पाएको थियो। गुणस्तरहीन पुल निर्माण गरेपनि समितिले नेताहरूको पहुँचका कारण भुक्तानी पाउन सफल भएको थियो।

उपभोक्ता समितिका अध्यक्ष सन्तोष साहले पुल भत्केको बारेमा इन्जिनियरलाई थाहा हुने बताए। बाढी आएकाले पुल भत्केको हुन सक्ने उनले बताए। ‘पुल भत्केको कुरा इन्जिनियरले जानुन् भत्कियो त भत्कियो, बाढी आएको होला तलको माटो बगायो पुल भत्कियो’, उनले भने।

यता पुल निर्माणमा खटिने पूर्वाधार विकास कार्यालयका इन्जिनियर रामदेव यादव भने त्यही बेला बढुवा भएर अन्तै गएकाले उनीसँग सम्पर्क हुन सकेन ।
पुल निर्माणमा चरम अनियमितता भइ गुणस्तरहीन निर्माण भएको बारेमा प्रदेश सांसद भीमा यादवसित निर्माण भएकै समयमा बुझ्दा उनले गुणस्तरीय काम भए नभएको बारेमा इन्जिनियरले ध्यान दिनुपर्ने बताएकी थिइन्।

कलभर्ट पुल अहिले अधुरो नै निर्माण भएको बताउँदै यादवले आर्थिक वर्ष २०७९/८० मा त्यही पुल बनाउन थप बजेट दिने पनि बताएकी थिइन् । यो खबर पत्रकार राम मण्डलले देश सन्चार अनलाइनमा लेखेका छन् ।

Related posts

वीरगन्जवासीकाे आक्राेश : राजधानी जनकपुर बनाउने मुख्यमन्त्री राउतलाई भाेट दिन्नाै

वीरगन्जमा चिडियाखाना निर्माणको काम शुरु : भाठा देखि ठोरी सम्म केबुलकार पनि बनाउने मन्त्री यादवको घोषणा

शेरे पर्सा

उम्मेदवारी दिदै वनमन्त्री यादवले भने : पर्सा १ मा पुन जितेर नयाँ ईतिहास रच्छु

Leave a Comment