Shere Parsa
अर्थतन्‍त्र हेडलाइन

धान ,चामलमा कर लगाउने भारतीय निर्णय फिर्ता लिन वीरगन्जका उद्योगीहरुको माग

मधेसखबर
वीरगन्ज, २४भदौं : भारतले धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णयको वीरगन्जका उद्योग व्यवसायीले विरोध गरेका छन् ।

भारतीय खाद्य मन्त्रालयको सिफारिसमा त्यहाको अर्थ मन्त्रालय अन्तर्गतको राजश्व विभागले आज शुक्रबार देखि लागु हुने गरि धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको हो । यस्तै भारतले कनिकाको निर्यातमा भने प्रतिबन्ध नै लगाएको छ ।यसअघि भारतबाट हुने चामल र धानको निर्यातमा भन्सार कर लाग्दैनथ्यो ।

पश्चिम बंगाल, उत्तर प्रदेश सहित केही राज्यमा वर्षाको कमीका कारण यो बर्ष भारतमा धानको उत्पादनमा निक्कै कमी आएको भारतले धान र चामलको निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गर्नुका साथै कनिकाको निर्यातमा प्रतिबन्ध लगाएको हो । विश्वमा धान उत्पादनमा भारत ,चीन पछिको दोस्रो ठूलो मुलुक हो ।

भारतले चामल र धानको निर्यातमा एकै पटक २० प्रतिशत कर लगाएपछि यसले नेपालमा खाद्यान्नको महङगी अझ बढ्ने र चामल उत्पादन गर्ने उद्योगहरु बन्द नै हुने अवस्थामा पुग्ने भन्दै नीजी क्षेत्रले विरोध जनाएको हो ।

शुक्रबार वीरगन्ज उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेर भारत सरकारको यो निर्णय फिर्ता गराउनका लागि पहल गर्न नेपाल सरकारसंग माग पनि गरेको छ ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले भारत सरकारको पछिल्लो निर्णयले नेपालमा खाद्यान्नको महङगी अझ बढ्ने मात्र नभइ नेपालका खाद्यान्न उद्योगहरु धराशायी नै हुने बताए ।

उनले भारतको यो निर्णयले नेपालमा खाद्यान्नको महङगी अझ बढ्ने , तस्करी झन मौलाउने र यसले नेपाल सरकारको राजश्व संकलनमा पनि कमी आउने बताए ।डाक्टर गुप्ताले भने ,‘ यदि यो निर्णय सच्चिएन भने नेपालका राइस मिलहरु बन्द हुन्छन् , त्यसपछि चामलको महङगी बढ्ने मात्र होइन यहा भोखमरीको संकट पनि आउन सक्छ । अध्यक्ष गुप्ताले भारत सरकारको निर्णयले देशलाइ नै समस्यामा पार्ने बताए ।

नेपाल चामल , तेल तथा दाल उत्पादक संघका केन्द्रिय अध्यक्ष समेत रहेका गुप्ताका अनुसार , देशभर साना ठूला गरि करिब २ हजार ५ सय चामल उद्योग छन् । ती मध्ये बारा पर्सा औद्योगिक करीडोरमा मात्रै झण्डै ७ सय भन्दा बढि चामल उद्योग छन् । यी उद्योगले स्वदेशी उत्पादनले नपुगेर भारतबाट धाान आयात गर्दै आइरहेका छन् ।

अहिले भारतले धान र चामलको निर्यातमा २० प्रतिशत कर लगाएपछि यसले यहाका चामल उद्योगहरुमा ताला लगाएर बन्द नै गर्नु पर्ने अवस्था आएको अध्यक्ष गुप्ताले बताए । गुप्ताले भने ,‘ यसै पनि नेपाल सरकारको गलत नीतिले यहाका ५० प्रतिशत चामल उद्योग बन्द छन् , अहिले सन्चालनमा रहेका उद्योग पनि ५० प्रतिशतको क्षमतामा मात्रै चलिरहेका छन् , झन भारतले २० प्रतिशत कर लगाइदिएपछि अहिले चलेका उद्योगहरु प्नि बन्द नै गर्नु पर्ने अवस्था आएको छ ।

 

उनका अनुसार , नेपालमा वार्षिक चामलको कुल खपत १८ लाख मेट्रिक टन छ । त्यो मध्ये १० लाख मेटन मात्रै यहाका उद्योगले उत्पादन गर्छन् । बाँकी ८ लाख मेटन चामल भारतबाट आयत हुने गरेको छ । यस्तै धान पनि स्वदेशको उत्पादनले नपुगेर भारतबाट वार्षिक करिब १७ लाख मेटन भारतबाटै आयात हुने गरेको छ ।

अर्थ मन्त्रालयको भन्सार विभागको तथ्याङक अनुसार , गत आर्थिक वर्ष २०७८/०७९ मा भारतबाट नेपालमा ५ लाख मेट्रिक टन धान , ५ लाख २० हजार मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन कनिका आयात भएको थियो । उक्त तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै कुल ४७ अर्ब ३५ करोड रुपैयाँ मुल्यको धान र चामल आयात भएको हो ।

 

यस्तै भारत सरकारले शुक्रबार देखि लागु हुने गरि कनिकाको निर्यातमा प्रतिबन्ध नै लगाउने निर्णय पनि गरेकाले यो निर्णयले यहाका बियर, ह्वीस्की लगायतका मदिरा र पशु दाना उत्पादन गर्ने उद्योगहरु पनि बन्द हुने अवस्थामा पुग्ने गुप्ताले बताए । कनिकाको प्रयोग बियर , ह्वस्की र पशुदाना उत्पादनमा प्रयोग हुने गर्छ ।

 

गुप्ताले भने ,‘ नेपाल सरकारले भारत सरकारसंग पहल गरेर यो निर्णय सच्याउन लगाउनु पर्छ भन्ने नीजी क्षेत्रको माग छ । उनले आइतबार काठमाण्डौ पुगेर संघको प्रतिनिधीमण्डलले प्रधानमन्त्री , अर्थमन्त्री , उद्योगमन्त्री र भारतीय राजदूतलाइ भेटेर पनि भारत सरकारको निर्णय सच्याउनका लागि आग्रह गर्ने बताए ।पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष हरि गौतम ,माधव रााजपाल, पूर्व अध्यक्ष प्रदीप केडियाका साथै यहाका उद्योगी व्यवसायी लगायतको सहभागीता रहेको थियो ।

Related posts

पूर्व वडाध्यक्ष अहिर एमालेमा दुई दिन पनि टिकेनन् , फेरि काँग्रेसमै फर्किए

जगरनाथपुर गाँउपालिकाकाे वडाहरु मै शिविर सन्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण

मधेश प्रदेशमा ६० प्रतिशत मतदान सम्पन्न

Leave a Comment